असारभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम नसके कारबाही गर्ने चेतावनी



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् ।

आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा बोल्दै उनले सरकारले निर्माणाधीन योजनाहरु पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताए । उनले पुल, सडक लगायतका निर्माणाधीन आयोजनाहरु पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरु अघि बढेको बताए । आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न उनले निर्देशन दिए ।

असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनै पनि कदम चाल्न सक्ने उनले चेतावनी दिए ।

निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताए । उनले सडक सीमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेको बताए । हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाहरुको सामना गरेर काम अघि बढाइरहेको उनको भनाइ छ ।

उनले निर्माण सामग्री समयमा नआइपुग्ने, विद्युतका पोलहरुको समस्या, स्थानीय तहको मातहतबाट निर्माण सामग्री लिनुपर्ने कारणले गर्दा केही ढिला भएको बताए ।


क्लिकमान्डु