ऊर्जा उत्पादनमा हुने कमी परिपूर्ति गर्न सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेछः मन्त्री बस्नेत



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत चाहीँ उही अनुपातमा हुने हुँदा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सौम्झौता माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव पेश गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

उनले नेपालमा ऊर्जा खपतको प्रकृति सुख्खा याम र वर्षा याममा एकै प्रकारको हुने भए पनि उत्पादन भने सुख्खा याममा चारगुणा कम हुने बताए । यो ग्यापलाई मेटाउनका लागि नेपालमा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । यही समस्या समाधानका लागि नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा जानुपर्ने उनको भनाइ छ ।

उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा हालसम्म ११८ वटा राष्ट्रले करार सम्झौतामा हस्ताक्षर गरेका र ९७ राष्ट्रहरुले अनुमोदन समेत गरिसकेका जानकारी दिए ।


क्लिकमान्डु