आलोचना गर्दै आएका हर्क साम्पाङले किन भेटे गृहमन्त्री रवि लामिछाने ?



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको भेटवार्ता भएको ।

आइतबार गृहमन्त्री लामिछानेसँगको भेटका लागि साम्पाङ गृहमन्त्रालय पुगेका थिए ।

प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन् ।

गृहमन्त्रीसँगको भेटमा प्रमुख साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो गरे ।

लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने गृहमन्त्री लामिछानेको भनाइ छ । उनले साम्पाङको माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिए ।

प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई प्रमुख साम्पाङले सुझाव दिए ।

उनको सुझाव पछि गृहमन्त्री लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिवद्धता जनाए ।

गृहमन्त्री र प्रमुख साम्पाबीच लागू औषध दुब्र्यसनी नियन्त्रणबारे पनि छलफल भएको छ । नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानून नरहेकोबारे साम्पाङले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्य सहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ छ ।

प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्रीले प्रतिवद्धता जनाए ।

मेयर साम्पाङले सामाजिक सञ्जालबाट लामिछानेको चर्को आलोचना गर्दै आएका छन् ।


क्लिकमान्डु