भारतले बढायो नेपाल आयात हुने बिजुलीको मूल्य, अब कति तिर्नुपर्छ ?



काठमाडौं । भारतले नेपाल आयात हुने विद्युतको महसुल बढाइएको पाइएको छ ।

नेपाल र भारतबीच पावर एक्सचेन्ज कमिटीको बैठकमा मुल्य बढाउने निर्णय भएको हो । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बैठकका लागि दिल्ली पुगेको थियो । उक्त बैठकमा मूल्य बढाउन भारतले गरेको प्रस्तावमा सहमति भएको पाइएको छ । बैठक फागुन २८ गते बसेको थियो ।


नयाँ बढेको मूल्य अप्रिल १ देखि अर्थात चैत १९ गते सोमबारदेखि लागु हुनेछ । अहिले भारतबाट ३३ केभीबाट आयात हुने बिजुली ८.२८ भारु (१३.२४८ रुपैयाँ) प्रतियुनिट थियो । अब ८.६५ रुपैयाँ भारु १३.८४ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने छ । १३२ केभीबाट आयात हुने बिजुली ७.६४ रुपैयाँ भारु (१२.२२४ रुपैयाँ) प्रतियुनिट थियो । अब ७.९८ भारु अर्थात १२.७७ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने छ ।


नेपालले भारतबाट ६०० मेगावाटसम्म विद्युत् आयात गरेर व्यवस्थापन गरिरहेको छ । केहि दिन पहिले मात्रै भारतबाट आयात हुने बिजुलीको इजाजत तीन महिनाका लागि नवीकरण भएको छ । प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट आयात गर्न अनुमति दिएको हो ।


नेपालले भारतबाट ५ वर्षका लागि विद्युत् आयात गर्ने सम्झौता गरेको छ । तर यो सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । सम्झौताको अवधि मार्च ३१ अर्थात चैत १८ गते आइतबार सकिन लागेको थियो ।

भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) आयातका लागि तीन महिनाको समय थपिदिएको हो । एक वर्षका लागि नवीकरण हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्रै सम्झौता नवीकरण गरेको छ ।


दिउँसो मात्रै बिजुली आयात गर्न पाउने भएपछि आगामी सातादेखि पीक आवरमा कसरी व्यवस्थापन गर्ने भन्ने रणनीतिमा प्राधिकरणको सिंगो टोली लागेको छ । नेपालमा कुलेखानी (१०० मेगावाट) बाहेक जलाशययुक्त जलविद्युत् आयोजना छैन । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केहि अर्ध-जलाशय प्रकृतिका जलविद्युत् आयोजनाहरु रहेका छन् । ती आयोजनाहरु पीकमा मात्रै चल्छन् ।


प्राधिकरणले दिनभरी बिजुली व्यवस्थापनका लागि भन्दै १००० मेगावाटको सोलारको आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुलाउन लागेको छ । यसले दिनभरीको लोड व्यवस्थापन हुने जलाशय र अर्ध जलाशय प्रकृतिका जलविद्युत् आयोजनाहरु पीकमा चलाउने योजना छ ।


नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशत खुम्चन्छ । जलवायु परिवर्तनका असरको कारण केहि जलविद्युत् आयोजनाको उत्पादन १० प्रतिशत खुम्चिएको छ ।
नेपालको जडित क्षमता ३००० मेगावाट पुगेको भएपनि १५०० मेगावाटको माग पूरा गर्न ६०० मेगावाटसम्म आयात भइरहेको छ । बर्खामा भने १००० मेगावाटभन्दा बढी बिजुली सरप्लस हुने अवस्था छ ।


भारतले नकिनेका कारण गएको वर्ष ५०० मेगावाट वर्खाको बिजुली खेर फ्याक्नु परेको थियो । आगामी बर्खामा भारतले नकिने १००० मेगावाट खेर जाने अवस्था छ ।


हिउँदमा आयात गर्नुपर्ने र वर्खामा भारतलाई बेच्नुपर्ने बाध्यात्मक अवस्था छ । यहि बाध्यतामा भारतले खेल्दै आएको छ । उसले हरेक पटक किन्दा र बेच्दा बार्गेनिङ गरेर आफू अनुकुलको निर्णय गर्न नेपाललाई बाध्य बनाउने गरेको छ ।


क्लिकमान्डु