नेशनल हर्टीकल्चर एक्सपो २०८० सुरु



काठमाडौं । नेशनल हर्टीकल्चर एक्सपो २०८० (राष्ट्रिय बागवाणी प्रदर्शनी मेला ) भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको छ । नर्सरी ब्यवसायीसंघले पहिलोपटक गरेको नेशनल हर्टीकल्चर एक्सपोको उद्घाटनमा बोल्दै वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले नेपालमा उत्पादीत फलफूल तथा नर्सरी जडीबुटी विदेशमा निर्यात गर्नेगरी उत्पादन गर्न व्यवसायीलाई सुझाव दिए ।

नेपालको उत्पादन भन्दा बढी फूल तथा नर्सरी धेरै गुणा बढी बिदेशबाट आयत गर्नुपर्ने अवस्था दुखद भएको वन मन्त्री शाहको भनाइ छ ।

‘नर्सरी तथा फलफूल ब्यवसायलाई सरकारी तवरबाट खासै सहयोग छैन नर्सरी ब्यवसाय कृर्षि पर्यटन र बन मन्त्रालय भित्र पर्ने भएकाले अब छिटै तिनैवटा मन्त्रालयको समन्वयमा बैठक बसी समस्या समाधन गर्नेछु’ ,मन्त्री शाहले भने ।

पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रबिन्द्र थापाले बार्षिक रुपमा साढे तीन अर्ब पुष्प र आलंकारीक बिरुवाहरुको बार्षिक कारोवार नेपालमा भैरहेको तथ्यांक प्रस्तुत गर्दै फलफूल तथा कृषि वन जडीबुटी उत्पादनमा ब्यवसायीहरुलाई सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले फलफूल नर्सरी ब्यवसायबाट रोजगार सृजना गर्न र ब्यवसायलाई प्रबद्र्धन गर्न सरकारले ध्यान नदिएको बताए । वनस्पति बिभागका महानिर्देशक डा संजिव कुमार राईले नर्सरी फलफूल बिदेशबाट आयातित हुनु भन्दा पनि नेपालबाट निर्यात हुने गरी उत्पादन गर्न सबै बिभागको समन्वय हुनु पर्ने बताए ।

राष्ट्रिय किसान आयोगका प्रेम दंगालले कृषि तथा फलफूल नर्सरी ब्यवसाय प्रद्र्धन गर्नका लागि कृषि नीतिमा नै समस्या रहेकाले परिमार्जन गर्नुपर्ने बताए । कार्यक्रममा नर्सरी ब्यवसायीसंघका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामजी कुवरले मेलामा देशैभरीबाट पुष्प फलफूल,कृर्षि वन तथा जडीबुडी नर्सरीको ७ सय भन्दा बढी प्रजातीका बोट बिरुवाहरु प्रदर्शनी र बिक्री बितरणका लागि राखीएको जानकारी गराए ।

मेलामा मलखाद अर्गानिक एवं रासायनीक बिषादी बिउ बिजन औजार उपकरण तथा प्रबिधिहरुको स्टल राखिएको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सेनाले बताए । नर्सरी ब्यवसायीका साथै आम उपभोक्ताहरुलाई जोड्न मेलााले सहयोग पुग्ने संघका अध्यक्ष तिमिल्सीनाको भनाई थियो ।

कार्यक्रममा दिर्घकालीन नर्सरी ब्यसायी सम्मान २०८० बाट हेमकान्त तिमल्सिना र बिशेष उत्पादक नर्सरी ब्यवसायी सम्मानबाट शिव बहादुर खड्कालाई सम्मानीत गरीएको थियो । संचार क्षेत्रबाट रातोपाटीकी शरीता थारु र कृर्षि अनलाईनका प्रधानसम्पादक बैकुण्ठ प्रसाद भण्डारीलाई नगद सहित पुरस्कृत गरीएको थियो । त्यसै गरी नर्सरी ब्यवसायीहरुलाई प्रोत्साहनको लागि बिभिन्न सात बिधामा प्रतिस्पर्धा गराएर नगदसहित पुरस्कृत गरीएको थियो ।

नेशनल हर्टिकल्चर एक्सपो नेपालमा पहिलो पटक भएको हो मेला चैत्र १९ गतेसम्म भृकुटीमण्डपको एक्जुबिसन हलमा चल्नेछ।


क्लिकमान्डु