डिजेल चोरी गर्दा गर्दै समातिए चालक, ट्यांकर पनि नियन्त्रणमा



काठमाडौं । हेटौंडामा डिजेल चोरी गर्दै गरेको अवस्थामा बिहीबार चालकसहित एउटा ट्यांकरलाई नियन्त्रणमा लिइएको छ ।

हेटौंडास्थित नवदुर्गा आयल स्टोर्समा डिजेल चोरी गर्दै गरेको अवस्थामा ना ७ ख २७९४ नम्बरको ट्यांकरसहित चालकलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको चालक र ट्यांकरलाई शुक्रबार बिहान थानकोटस्थित आयल निगमको बागमती प्रादेशिक कार्यालय ल्याइएको छ ।

वागमती प्रादेशिक कार्यालय प्रमुख अशोककुमार साहले डिजेल चोरी गरेको अभियोगमा ट्याँकर र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले उक्त घटनाको बिषयमा गहन रुपमा छानविन गरी थप कारवाहीको लागि केन्द्रिय कार्यालयलाई सिफारिश गरेको जानकारी दिए । केन्द्रिय कार्यालयले उक्त ट्याँकरको ढुवानी अनुमति रद्द गर्न सक्नेसम्मको कारवाही गर्न सक्ने बताइएको छ ।

स्रोतका अनुसार थानकोट डिपोको अपरेशन विभागमा कार्यरत कर्मचारीको मिलोमतोमा उक्त डिजेल चोरी भएको आशंका गरिएको छ । उक्त विभागमा कार्यरत कर्मचारीले चालकबाट रकम लिएर तोकिएको परिमाणभन्दा बढी डिजेल ट्याँकरमा भर्ने गरेको स्रोतले जनाएको छ ।


क्लिकमान्डु