दर्जन सचिवको जिम्मेवारी परिवर्तन हुँदै, अर्थ मन्त्रालयमा को आउला ?



काठमाडौं । सरकारले दर्जन सचिवहरूको जिम्मेवारी परिवर्तन गर्ने तयारी गरेको छ । बिहीवार बस्ने मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयका सचिवको जिम्मेवारी परिवर्तन गर्ने तयारी गरेको हो ।

फागुन २३ गते एमाले र माओवादी सहितको नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रीहरूले आफू अनुकुलका सचिव लैजाने तयारी गरेका हुन् । सरकार परिवर्तन भए लगत्तै गृह सचिवको जिम्मेवारी फेरिएको थियो ।

रवि लामिछाने गृहमन्त्री बने लगत्तै दिनेश भट्टराईलाई हटाएर एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी दिएका थिए ।

अहिले अर्थ लगाएतका मन्त्रालयमा सचिव फेरिने चर्चा चलेको छ ।

अर्थमन्त्रालय अन्तर्गत अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रक कार्यालयमा सचिव छन् ।

बिहीबार(आज) बस्ने मन्त्रिपरिषद् बैठकले अर्थ सचिव,राजस्व वा महालेखा नियन्त्रक मध्ये दुई जनाको जिम्मेवारी फेर्ने स्रोतले जानकारी दिएको छ ।

हाल अर्थसचिव रहेका कृष्णहरी पुष्कर कर्णको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाललाई अर्थसचिवको जिम्मेवारी दिने चर्चा छ।

यदी अर्थ सचिवमा कर्णले निरन्तरता पाएमा हाल राजस्व सचिव रहेका रामप्रसाद घिमिरेको जिम्मेवारी फेरिने अर्थ मन्त्रालयमा चर्चा छ ।

महालेखा नियन्त्रक हरी प्रसाद मैनालीको पनि जिम्मेवारी फेरिने स्रोतको भनाइ छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशका कामु सचिव रहेका केदार शर्मालाई सचिवमा बढुवा गर्दै राजस्व सचिवको जिम्मेवारी दिने सम्भावना छ ।

हाल बागमती प्रदेशका प्रमुख सचिव रहेका घनश्याम उपाध्यायलाई श्रम मन्त्रालय वा पर्यटन मन्त्रालयमा सरुवा गरिने श्रोतले जानकारी दिएको छ।

बिहीबारको मन्त्रिपरिषद्ले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव समेत परिवर्तन गर्ने चर्चा छ ।


क्लिकमान्डु