डाबर नेपालले एकै वर्ष गर्‍यो साढे १३ अर्बको व्यापार, साढे ८ अर्बको निर्यात



काठमाडौं । डाबर नेपाल प्रालिले एकै वर्ष साढे १३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीको व्यापार २२ प्रतिशतले बढेको छ । व्यापार बढे पनि नाफा भने स्थिर रहेको छ । कम्पनीले सन् २०२३ मा १०.३४ प्रतिशत नाफा कमाएको छ । बजारबाट डाबर नेपालको अझै १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ उठ्न बाँकी रहेको जनाएको छ ।

सन् १९९२ दखि नेपालमा व्यापार गर्दै आएको कम्पनी भारतको डाबर इन्डियाको सहायक कम्पनी हो । डाबर नेपालले विभिन्न प्रकारमा वस्तु उत्पादन गरी बजारमा बिक्री गर्नुका साथै निर्यात पनि गर्दै आएको छ ।

डाबर नेपालले फलफूलको जुस/बेभरेज, च्यावानप्राश, ग्लुकोज, टुथपेस्ट, कपालको तेल, डाइजेस्टिभ ट्याबलेट (हाजमोला) र मह निर्यात गर्दै आएको छ ।

वार्षिक १० अर्बभन्दा बढी कारोबार गर्दै आएको कम्पनीले अल्पकालीन कर्जाका लागि ६ अर्ब ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीमा डाबर इन्डियाको सहायक कम्पनी डाबर इन्टरनेशनल लिमिटेडको ९७.५० प्रतिशत हिस्सा छ । उक्त कम्पनी भारतको एफएमसीजी वस्तुको उत्पादन गर्ने ठूलो कम्पनी हो । कम्पनीले भारतमा सन् २०२३ मा मात्रै भारतीय रुपैयाँ १ खर्ब १५ अर्बको व्यापार गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी भारतीय रुपैयाँ ९ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ ।

सन् १८८४ बाट व्यापार सुरु गरेको कम्पनी हेल्थकेयर, पर्शनल केयर र फुड प्रोडक्टको उत्पादन र बिक्री वितरणमा संलग्न छ । कम्पनीले २५० वटाभन्दा बढी हर्बल र आयुर्वेदिक उत्पादन गर्दै आएको छ । विश्वको १२० भन्दा बढी देशमा व्यापार गर्दै आएको कम्पनीले नेपालमा पनि उच्च व्यापार गर्दै आएको छ । नेपालमा डाबरको ३ सय बढी वितरक र एक लाख रिटेल पोइन्ट छ ।

कम्पनीले रियल ब्राण्डको ४० वटाभन्दा बढी प्रकारका रियल, एक्टिभ र ब्रस्ट जुस बिक्री विरतण गर्दै आएको छ । कम्पनीअनुसार सन् २०२३ मा साढे १३ अर्ब रुपैयाँको व्यापार गर्दा ८ अरब ४८ करोड ३० लाख रुपैयाँको आम्दानी निर्यातबाट गरेको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा निर्यात ३ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु