डाबर नेपालको ३० वर्षे यात्राः थप १० अर्ब लगानी स्वीकृत, निर्यात बढाउने योजना बनाउँदैछन् बेदी



काठमाडौं । नेपालको अर्थतन्त्रको बारेमा पछिल्लो १५ वर्षदेखि सुक्ष्मरुपमा हेरिरहेका छन् हरकिरत सिंह बेदी । मुलुकको राजनीतिक र आर्थिक उतारचढावलाई नजिकबाट अनुभव पनि गरेका छन् ।

डाबर नेपालजस्तो स्थापित बहुराष्ट्रिय कम्पनीको बिजनेश हेडको पदमा रहँदा नेपालको आर्थिक विकासमा राम्रो सम्भावना देख्छन् उनी ।

स्थानीयदेखि बुहराष्ट्रिय कम्पनीहरुले यहाँ लगानी गरेर प्रतिफल लिन सक्ने ठाउँ छ । स्थानीय बजारसँगै भारतजस्तो ठूलो जनसंख्या भएको देशमा निर्यात गर्न सक्ने अवस्था छ ।

व्यापार घाटा बढ्दो र विदेशी मुद्रा सञ्चिति घट्दो भइरहेको बेला कसैले नेपाल श्रीलंकाको बाटोमा जान लागेको भनेर निराशा देखाइरहेका छन् । नेपालमा ३० वर्षदेखि उद्योग सञ्चालन गरिरहेको डाबर नेपाललाई लिडिङ गरिरहेका बेदीले यस विषयमा फरक दृष्टिकोण राख्छन् ।

‘केही बिग्रिएको अर्थतन्त्रमा चिन्ता व्यक्त गर्नु स्वभाविकै भए पनि नेपाल र श्रीलंकाको अवस्था फरक छ,’ बेदीले क्लिकमाण्डूसँग भने, ‘श्रीलंका जुन तरिकाले पहिलेदेखि गुज्रिदै आयो, त्यो अवस्था नेपालको छैन ।’

नेपालको अर्थतन्त्रमा केही नकारात्मक सूचकांक देखिए पनि आशा लाग्ने धेरै ठाउँ रहेको उनी बताउँछन् ।

मुलुकको अर्थतन्त्रलाई सही बाटोमा यहाँको बैंकिङ प्रणाली र नेपाल राष्ट्र बैंकले खेलेको भूमिकालाई सकारात्मक रुपमा हेर्नुपर्ने उनको बुझाइ छ ।

‘नेपाल राष्ट्र बैंकले परम्परागत टाइट अर्थनीति अंगालेको छ,’ बेदी भन्छन्, ‘यसले मुलुकको अर्थतन्त्रलाई बिग्रन दिँदैन भन्ने मलाई लाग्छ ।’

नेपालको सम्हालिएको अर्थतन्त्रमा लगानी गर्ने प्रचुर सम्भावना देख्छन् उनी । कतिले ‘नेपालमा लगानी गर्ने वतावरण छैन’ भन्दै आएका छन् । यस विषयमा भने उनको विल्कुलै फरक मत छ ।

‘केहीले नेपाल अलि सम्पन्न होस् र लगानी गरौंला भनेर बसिरहेका छन्,’ बेदीले भने, ‘नेपाललाई सम्पन्न बनाउन पहिला हामीले लगानी गर्नुपर्छ ।’

सार्क क्षेत्रका विभिन्न देशको अनुभवले पनि उनलाई धेरै कुरा सिकाएको छ । जहाँ लगानी वृद्धि हुँदै जान्छ, त्यहाँको अर्थतन्त्र सप्रिदै जान्छ ।

उनले नेपालको अर्थतन्त्रमात्र बुझेका छैनन्, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, भुटान र समग्र सार्क क्षेत्रको अर्थतन्त्रको बारेमा जानकार छन् ।

‘फास्ट मुभिङ कन्जुमर गुड्स’ (एफएमसीजी)का वस्तु उत्पादन यी क्षेत्रमा रहेर व्यवहारिक अनुभव लिएका छन् । यस क्षेत्रमा २३ वर्ष लामो अनुभव संगालेका बेदी डाबर ग्रुपमा मात्रै २० वर्षदेखि निरन्तर कार्यरत छन् ।

डाबरमा रहेर उनले यसअघि भारत, दक्षिण एसिया र दक्षिण पूर्वएशिया मुलुकमा काम गरिसकेका बेदीले अफ्नो व्यवसायिक करियर भने एभरेडी इन्ड्रष्ट्री, भारतबाट म्यानेजमेन्ट ट्रेनीका रुपमा शुरु गरेका थिए ।

सन् २००१ मा उनी डाबर इन्डियामा ‘सेल्स एण्ड डिस्ट्रिब्युसन’ शाखामा भर्ना भएपछि उनले पूर्वी भारत र भुटानमा सेल्स एण्ड डिष्ट्रिव्युसनमा काम गरे ।

सन् २००७ मा उनी डाबर नेपालको हेड-सेल्स एण्ड मार्केटिङका रुपमा आए र सन् २०१२ मा कन्ट्री म्यानेजर भूमिका पदोन्नती भए । सन् २०१६ मा नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार क्षेत्र हेर्ने गरी बिजनेस हेड–सार्कका रुपमा नियुक्त भए ।

सफल व्यवसायिक ‘करियर’ बनाएका बेदीले नेपाल प्रवेशसँगै डाबरका विभिन्न वस्तुको उत्पादन र निर्यात विस्तारमा लागिरहेका छन् । यही सिलसिलामा डाबर नेपालले १० अर्ब रुपैयाँ थप लगानी गर्दै छ ।

यो लगानीलाई कहाँ र कसरी प्रभावकारीरुपमा प्रयोग गर्ने भनेर विभिन्न योजना बनाइरहेका छन् बेदी । यसै आर्थिक वर्ष विदेशी लगानी स्वीकृत गर्ने निकाय लगानी बोर्ड, नेपालले डाबर नेपाललाई उक्त लगानी गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

डाबर नेपालले ५ वर्षअघि देखि नै नेपालमा थप लगानी गर्न उद्योग विभागमा अनुमति माग गरेको थियो । ६ अर्बभन्दा धेरै लगानीको स्वीकृति लगानी बोर्डले गर्ने भएपछि त्यहाँबाट स्वीकृति पाएको हो ।

डाबर नेपालले यो लगानी मुख्य त अहिले उत्पादन भइरहेका वस्तुको क्षमता वृद्धि र निर्यात बढाउन खर्च गर्ने योजना छ ।

कम्पनीले आफ्नो मुख्य उत्पादनको रुपमा रहेको जुसको उत्पादन क्षमता वृद्धि गरि निर्यात बढाउने योजना रहेको बेदीले बताए । यसको लागि ‘हाई स्पीड अटोमेटेड प्रोडक्सन लाइन’ स्थापना गर्दै छ ।

यसको स्थापनाले उद्योगको निर्यात क्षमता वृद्धि हुनेछ । उद्योगले ‘कन्जुमर केयर डिभिजन’ अन्र्तगत विभिन्न प्रकारका उत्पादन गर्दै छन् । जस्तैः च्यवनप्राश, हाजमोला, केश तेल, डाबर बाटिका, स्याम्पु, लालदन्त मन्जन, गुलावरी क्रिम, ओडोनिल, स्यानी फ्रेश आदि उत्पादन गर्दै आएको छ ।

हालको उत्पादन क्षमता वृद्धिसँगै नयाँ वस्तुको उत्पादन, विकास, बजारीकरण, अध्ययन र अनुसन्धानमा पनि उक्त लगानी खर्च गरिने कम्पनीले जनाएको छ ।

३० वर्षअघि ८ करोड रुपैयाँ लगानीबाट शुरु भएको डाबर नेपालले अहिलेसम्म ४ अर्ब रुपैयाँभन्दा धेरै लगानी पुर्याइसकेको छ । लाभांश वितरण नगरी नाफालाई पूर्णलगानी गर्ने योजनाअनुरुप १० अर्ब रुपैयाँ नयाँ लगानी थप्न लागेको हो ।

बहुराष्ट्रिय कम्पनीको रुपमा डाबर नेपालले ३० वर्षदेखि वस्तु निर्यातमा ठूलो योगदान छ । डाबर नेपालले वार्षिक रुपमा अर्बौं रुपैयाँको जुस निर्यातले मुलुकमा व्यापार घाटा कम गर्न, हाल देखिएको विदेशी मुद्रा सञ्चिति समस्या कम गर्न सहयोग गरेको उनको भनाइ छ ।

डाबर नेपालका जुसहरु मुख्य रुपमा भारतमा निर्यात भइरहेका छन् । भारतमा भइरहेको निर्यातले विदेशी मुद्रा आर्जनमा सहयोग गरिरहेको छ ।

‘हामीले मुख्य त दुई किसिमको कारोबार गरिरहेका छौं,’ बेदीले भने, ‘एउटा स्थानीय बजारमा कारोबार भइरहेको छ भने अर्को भारतमा जुस तथा इन्टरमेडिएट्स निर्यात भइरहेका छन् ।’

डाबर नेपालको जुसलाई भारतमा हुने खपत कसरी बढाउन सकिन्छ भनेर यसमा अध्ययन र क्षमता वृद्धिमा काम गरिरहेको छ । भारतमा खपत वृद्धि गर्न सकेमा नेपालबाट जुस निर्यात बढ्ने छ । त्यसको लागि विभिन्न तहमा लगानी गर्ने योजना डाबर नेपालको छ ।

पछिल्लो समय नेपालमा तीव्र रुपमा व्यापार घाटा र विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । नेपालको आवश्यकतालाई ध्यानमा राखेर बहुराष्ट्रिय कम्पनी डाबर नेपालले निर्यात गर्ने वस्तुको उत्पादन र निर्यात बढाउन योजना बनाएको छ ।

डाबर नेपालले अहिलेसम्म भारतमा जुस निर्यात गर्दै आएकोमा अब तेस्रो मुलुकमा निर्यात विस्तार गर्ने योजना बनाइरहेको छ । भारतबाहेक दुवई, बंगलादेश, कतार र अमेरिकामा पनि आफ्नो उत्पादनहरु निर्यातको तयारी भइरहेको छ ।

‘अहिले भारतबाहेकका मुलुकको निर्यात एकदमै न्यून छ,’ बेदीले भने, ‘निर्यातको आकारलाई ठूला बनाउन हामीले सबै प्रयास गरिरहेका छौं ।’

भारत वा तेस्रो मुलुकमा आफ्नो निर्यात बढाउन त्यस देशको उपभोक्ताको उपभोग्य बानी र अचारण बारेमा पनि बुझ्नु पर्छ । कुन ठाउँका उपभोक्ताले के कुरा मन पराउँछन् भन्ने थाहा पाउन सकेमा मात्रै वस्तु निर्यात बढाउन सकिने उनको धारणा छ । यी कुरा पनि ध्यानमा राखेर अध्ययन, अनुसन्धान र बजारीकरण गर्न आवश्यक भएको बेदीले बताए ।

कोभिड महामारी नभएको भए यो कारोबार अझ धेरै बढ्ने कम्पनीको भनाइ छ । पछिल्लो दुई वर्षदेखिको कोरोना संक्रमणले संसारका बहुराष्ट्रिय कम्पनी जस्तै डाबर नेपालको उत्पादनमा ठूलो असर गरेको छ ।

डाबर नेपालको व्यापार मुख्यत तीन क्षेत्रमा केन्द्रित छ- घरेलु, निर्यात र कृषि वनमा आधारित । यी क्षेत्रमा कोभिड संक्रमणले ठूलो असर गर्यो ।

भारतमा हुने जुसको निकासी लामो समय बन्द भयो । खुला भएको अवस्थामा पनि कोरोना संक्रमणका डरले धेरै उपभोक्ताले लामो समय प्रयोग गरेनन् । जसले गर्दा निर्यातमा ठूलो असर पर्यो ।

कोरोना संक्रमणमा तातो पेय पदार्थ खानुपर्छ भन्ने आम सर्वसाधरणको बुझाइ थियो । जसले जुसको उपभोग घटे पनि अन्य उत्पादनहरु जस्तो कि च्यवनप्राश, मह, हाइजिन केयर र शुद्ध आयुर्वेदको उपभोग भने राम्रो भयो । यी वस्तुले घटेको जुसको बजारलाई परीपूर्ति गरेका छन् ।

नेपालमा बहुराष्ट्रिय कम्पनीहरुको लगानीको ठूलो सम्भावना भए पनि मुलुकको आफ्नै राजनीति र आर्थिक अस्थिरताका कारण यसमा असर गरिरहेको छ । नेपालले अबलम्बन गर्ने नीतिहरु स्थिर छैनन् । परिवर्तन भइरहने सरकार र हरेक बजेटमा नीतिहरु परिवर्तन भइरहँदा ठूला लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सकेका छैनन् ।

लामो समय नेपालको अर्थ राजनीतिलाई नजिकबाट हेरिरहेका बेदीले पनि यस्तो अनुभव गरिरहेका छन् ।

‘सरकारको नीतिमा बारम्बार परिवर्तन भएसँगै व्यापार गर्न धेरै गाह्रो छ,’ बेदीले भने, ‘जुन कुराहरु हामीहरुले सामना गरिरहेका छौं ।’

नेपालमा गर्नै पर्ने केही कामहरु छन् । जुन कुरा बेदीले पनि लामो समयदेखि अनुभव गरिरहेका छन् ।

पहिलो कुरा त बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) नियमहरु नेपालमा प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेका छैनन् । आईपीआर नियमहरु बलियो बनाउन आवश्यक भएको उनको भनाइ छ ।

‘प्रसिद्ध बहुराष्ट्रिय ब्रान्डहरु र ट्रेडमार्कहरु सुरक्षित गर्न आवश्यक छ,’ उनले भने, ‘यसले बहुराष्ट्रिय कम्पनीहरुलाई सुरक्षाको महशुस गराउन मद्दत पुग्छ ।’

दोस्रो, पछिल्लो समय बिग्रेको औद्योगिक वातावरण सुधार गर्न औद्योगिक उपभोग र निकासीमूलक उद्योगको कच्चा पदार्थको रुपमा चाहिने कालो मरिच जस्ता कच्चा पदार्थको आयातमा लगाएको प्रतिबन्ध हटाउनुपर्ने उनको सुझाब छ । नेपालका नीतिगत अस्थिरताले समय समयमा यस्ता प्रतिबन्धहरुले उत्पादन र निकासीमा निरन्तर असर गर्ने उनको धारणा छ ।

तेस्रो, ठूला उद्योग सञ्चालन गर्न कतिपय अवस्थामा विदेशी विशेषज्ञहरुको सेवा लिनुपर्ने हुन्छ । तर, विदेशी बिक्रेताहरुलाई भुक्तानी प्रकृया धेरै जटिल र लामो छ । विशेष गरी सेवा विक्रेताहरुले भुक्तानीमा भएको यो जटिल प्रक्रिया झेलिरहेका छन् । जटिल र लामो प्रकृयालाई सरल र सहज बनाउन आवश्यक भएको उनको भनाइ छ ।

अर्को समस्या भनेको विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन (फिटा) अन्र्तगत संचालित कम्पनीहरुलाई ‘कन्ट्राक्ट म्यानिफ्याक्चरिङ’मा संलग्न हुन प्रतिबन्ध लगाइएको छ । डाबर नेपालले धेरै उत्पादनहरु ‘कन्ट्र्याक्ट म्यानिफेक्चरिङ’ गरेर बजार प्रवेश गर्न चाहिरहेको छ ।

फिटाले ‘कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ’मा संलग्न हुन प्रतिबन्ध लगाएका कारण धेरै उत्पादनहरु बजारमा आउन नसकेको डाबर नेपालको भनाइ छ ।

यस्ता विद्यमान समस्याहरु समाधान गर्ने हो भने डाबर नेपालले मात्र होइन देशमा अधिकांश व्यवसायीक संस्थाहरुको हितमा हुने उनको विश्लेषण छ ।

डाबर नेपालले नेपालका उपभोक्तालाई विगत ३० वर्षदेखि विभिन्न वस्तु पस्किरहेको छ । यहाँ उपभोगको ट्रेन्ड परिवर्तन हुँदै गएको छ । उपभोक्ताहरु पहिलेभन्दा अझ बढी जागरुक र जानकार भएका छन् । यसले गर्दा बहुराष्ट्रिय कम्पनी डाबर नेपालका गुणस्तरीय सामानको उपभोग पनि बढ्दै गएको छ ।

नेपाल अधिकतम युवा जनसंख्या भएको देश हो । नेपालमा खपत शक्ति पनि बढ्दै गएको छ ।

‘हामीले नेपाली उपभोक्ताको मागअनुसार आवश्यकता पूरा गर्ने प्रयास गरिरहेका छौं,’ बेदीले भने ।

नेपालमा डाबरको प्रवेश

डाबर नेपाल नेपालमा सबैभन्दा सफल संयुक्त लगानीमध्येको एक हो । यसको ३० वर्षे यात्रा निकै रोचक र सफल छ ।

डाबर सन् १९८९ मा नेपाल प्रवेश गरेको डाबरले १९९२ मा औपचारिकरुपमा उत्पादन शुरु गर्यो । त्योबेला डाबर नेपालको कुल लगानी ८ करोड रुपैयाँ थियो । जुन लगानी अहिले ४ अर्बभन्दा धेरै भइसकेको छ ।

डाबर नेपाल सञ्चालनमा आएको पहिलो वर्ष ५३ लाख रुपैयाँको कारोबार गरेको थियो । ३० वर्षको अवधिमा यसको वार्षिक कारोबार ११ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

यस कम्पनीले नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा हजारौं व्यक्तिलाई रोजगारी दिएको छ । लामो समयदेखि नेपालमा रहेको डाबर नेपालले राज्यबाट विभिन्न सम्मान पनि पाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक राजश्व विभागबाट निकासीमा सबैभन्दा बढी कर तिर्ने उद्योगका रुपमा सम्मानित पनि भएको थियो ।


सन्तोष न्यौपाने