एमालेमा बा, रास्वपामा ‘भगवान्’ प्रश्नभन्दा माथि छन्: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले र रास्वपाको नेतृत्वमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको र आफ्नो पार्टीमा त्यस्तो अवस्था नरहेको बताएका छन् ।

दोस्रो चरणको संवाद यात्रा सुरु गर्दै नवलपरासीमा बिहीबार थापाले कांग्रेसमा सभापतिलाई प्रश्न उठाउन सकिने भए पनि एमाले र रास्वपामा त्यस्तो नभएको बताएका हुन् ।

‘एमालेमा अहिले पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा । बाभन्दा मुनि सबै जना हुने । बा चाहिँ प्रश्न भन्दामाथि हुने,’ उनले भने,’आलोचना जसले गर्छ त्यसलाई पार्टीबाट बाहिर निकाल्ने ।’

उनले रवि लामिछानेको नाम नलिइ रास्वपामा पनि त्यस्तै प्रवृत्ति रहेको बताए । उनले रविलाई भगवान भन्दै ठगे पनि लुटे पनि उनी माथि नै हुने अवस्था रहेको बताए ।

‘नयाँ पार्टीमा पनि त्यस्तै छ। अध्यक्ष भनेपछि भगवान् । भगवान् चाहिँ प्रश्नभन्दा माथि । भगवानले ठगेपनि लुटेपनि माथि हुने । त्यस्तो पार्टी पनि बनाउन मिल्छ । तर, हामीले त त्यस्तो पार्टी नबनाउने भन्यौँ । प्रश्न र छलफल गर्ने पार्टी भनेका छौँ’ उनले भने ।
थापाले आफूहरुले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेका बताए ।

‘हामीलाई यो मन पनि पर्छ । पार्टीको कार्यक्रम सार्वजनिक रूपमै राखेर पार्टीको समस्या समाधान गरिरहेका छौँ । नेतालाई आफ्नो कुरा भन्न पनि पाउने, आफ्नो फरक मत राख्न पनि पाउनुपर्ने पार्टी हामीलाई मन पनि परिरहेको छ’ उनले भने ।


क्लिकमान्डु