नेपालको विकास निर्माण साझेदारीताका लागि बेलायतले नयाँ योजना ल्याउने



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेटघाट भएको छ । राजदूतले लामिछानेलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर-सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि गृहमन्त्रीले आभार व्यक्त गरे ।

लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र बञ्चितीकरण न्यूनिकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको उपप्रधानमन्त्रीले अपेक्षा व्यक्त गरे ।

जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको राजदूत फेनले गृहमन्त्रीलाई जानकारी दिए ।

गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले तिनले उठाउँदै आएका मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको गृहमन्त्रीको भनाइ छ ।


क्लिकमान्डु