आजदेखि एसईई, जापानको विद्यालयबाट पनि २३ विद्यार्थी सहभागी हुँदै



आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म परीक्षा सञ्चालन हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।

परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैंगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

देशभरका २ हजार ६४ केन्द्रमा परीक्षा हुँदैछ । गतवर्षको तुलनामा यसपटक परीक्षार्थी भने १२ हजारले कम छन् ।

विदेशमा रहेका नेपाली विद्यार्थी पनि आजबाट एसईईमा सहभागी हुँदै छन् । जापानमा गैरआवासीय नेपालीले सञ्चालन गरेको एभरेस्ट इन्टरनेसनल विद्यालयका २३ विद्यार्थी पनि एसईईमा सहभागी हुँदै छन् । त्यहाँ अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ । उक्त विद्यालयबाट परीक्षा दिने यो तेस्रो ब्याच हो ।

परीक्षामा सामुदायिक र निजी गरी १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् । यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुनेछ ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने बोर्डले जनाएको छ ।

एक सय पूर्णाङ्कको परीक्षामा ३५ र ७५ पूर्णाङ्कको विषयमा २७ अंक ल्याउनुपर्ने छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइने छैन । तर उनीहरुले मौका परीक्षा भने दिन पाउँछन् ।


क्लिकमान्डु