श्रम स्वीकृति लिई रूस जान पाउने



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिई रूस जान पाउने व्यवस्था गरेको छ ।

सरकारले यसअघि रूस जानमा लागि श्रम स्वीकृति स्थगन गरिएको थियो । स्थगन गरेको श्रम स्वीकृति अहिले खुला गरी रुस जान पाउने व्यवस्था गरेको हो ।


’नेपाली नागरिकहरु विभिन्न बहानामा रुसमा गई रुसी सेनामा भर्ती भएका र रुस यूक्रेन युद्धमा नेपाली नागरिकहरुको मृत्यु भएको कारण देखाई परराष्ट्र मन्त्रालयले रुसमा भ्रमण गर्दा कन्सुलर सेवा विभागबाट एनओसी लिएर मात्र गर्न सूचना जारी गरेको अवस्था समेतलाई मध्येनजर गरी रुसमा काम गर्न जाने कामदारहरुको श्रम स्वीकृति पुस १९ गतेको स्थगन गरिएको थियो’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘श्रम स्वीकृति रोकिएको कारणबाट रुसमा विभिन्न पेशा व्यवसायी गरी नेपालमा विदामा आएका कामदारहरुको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) फागुन ९ गतेको निर्णयले पुनः श्रम स्वीकृति सुरु गरिएको छ।’

साथै संस्थागत माध्यमबाट रसियाको ब्लागोभेन्चेन्स्क सहरस्थित सिनोपिक इन्जिनियरिङ रुस ग्रुप एलएलसी कम्पनीमा कामदार पठाउन छनौट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका कामदारहरुको हकमा अन्तिम श्रम स्वीकृति प्रदान गर्न नेपाल सरकार (सचिवस्तर) को फागुन १६ गतेबाट संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको थियो ।

तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीकै पालामा उक्त निर्णय भएको मन्त्रालयले जनाएको छ । एक महिना अगाडि नै रुस जानका लागि खुला गरिएपनि सार्वजनिक रुपमा सूचना जारी नभएकाले मन्त्रालयले स्पष्ट पार्न विज्ञप्ति जारी गरेको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु