रविको आलोचना गरेपछि रमेश खरेललाई सोधियो स्पष्टीकरण, दिए रास्वपाबाट राजीनामा



काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका छन् । रास्वपाले स्पष्टीकरण सोधेपछि खरेलले पार्टीबाट राजीनामा दिएका हुन् ।

पार्टी सभापति रवि लामिछानेको आलोचना गरेपछि उनलाई रास्वपाले स्पष्टीकरण सोधेको थियो । तर खरेलले राजीनामा बुझाएका हुन् । उनले बुधबारबाट लागू हुने गरी पदबाट राजीनामा पत्र पठाएका हुन् ।

खरेलले केही दिनअघि पार्टी सभापति लामिछानेले स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै आलोचना गरेका थिए । त्यसपछि रास्वपाको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो ।

रास्वपा महामन्त्री मुकुल ढकालले खरेलसँग स्पष्टीकरण सोधिएको र उनले राजीनामा पठाएको जानकारी दिए।

खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा खरेल जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

यसअघि खरेल २०७९ मंसिर ४ को निर्वाचनमा सुशासन पार्टीबाट उनी काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए तर त्यतिबेला उनी पराजित भए । सुशासन पार्टीका उनी अध्यक्ष थिए ।


क्लिकमान्डु