सहकारी ठगीबारे लामिछानेको जवाफ: मेरो नामबाहेक केही छैन



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

बधुबार प्रतिनिधि सभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य र आधार नभएको बताए ।

उनले सहकारी ठगीको विषयमा आफ्नो नामबाहेक केही पनि नभएको बताए । हस्ताक्षर, ल्याप्चेसहितका केही पनि सार्वजनिक भएको पत्रमा नभएको उनको भनाइ छ । उनले अदालतमा मुद्दा गए पनि त्यसमा आफू प्रतिवादी नभएको तर्क गरे ।

‘सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन । हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ,’ गृहमन्त्री लामिछानेले बैठकमा भने, ‘अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम उल्लेख छैन ।’

त्यसअघि कांग्रे‍स सांसद दिलेन्द्र बडुले सहकारी ठगीमा गृहमन्त्रीको नाम मुछिएको भन्दै पदबाट बाहिरिनु पर्ने उल्लेख गरेका थिए ।
उनले कांग्रेस पार्टी सरकारमा हुँदा र आफू प्रतिपक्षमा हुँदा नै प्रहरीमा जाहेरी परेको बताए । ‘माननीयहरूको पार्टी नै सरकारमा हुँदा भएको हो । बात निस्किएपछि जवाफ त दिनुपर्ने होला । मलाई भोट हाल्ने मान्छेले ठगै होला भन्लान् फेरि,’ उनले भने, ‘अनुसन्धान प्रहरीले गर्ने हो । मन्त्रीले अनुसन्धान गर्ने होइन । मन्त्रीले निर्देशन दिने होइन । म सरकारमा आउनुभन्दा धेरै अगाडिको कुरा, धेरै पहिलेको कुरा भएको हो ।’

प्रहरीकहाँ परेको जाहेरीमा पनि तथ्य नभएको कुरा प्रहरी महानिरीक्षक बसन्त कुँवरले स्पष्ट पारेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता नरहेको बताए ।

त्यसअघि महानिरीक्षक कुँवरले सहकारी ठगीमा लामिछानेको संलग्नता नभेटिएको बताएका थिए ।
कुँवरले लामिछानेविरुद्ध ठाडो उजुरी परेको र त्यसबारे अनुसन्धान गर्दा प्रमाण नभेटिएको बताए ।
‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन’ उनले भने,’ अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’


क्लिकमान्डु