गृहमन्त्रीलाई एमाले भन्यो: जीवी राई मलेसिया छन् भन्नु भएको थियो त्यसको जवाफ चाहियो



काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राई कहाँ छन् ? भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा सांसद गुरुङले राईको विषयमा गृहमन्त्रीको जवाफ मागेका हुन् ।
अघिल्लो बैठकमा जीवी राई कहाँ छन् भनेर प्रश्न गरिएको र गृहमन्त्रीले उनी नेपालमा नभइ मलेसियमा छन् भनेको भन्दै गुरुङले त्यसको जवाफ मागेका हुन् ।

बैठकमा प्रहरी प्रमुख, गृहसचिव र गृहमन्त्री उपस्थित रहेको भन्दै सांसद गुरुङले इन्टरपोलमार्फत पत्राचार गरेको बारे के भयो भन्दै प्रश्न गरे ।

‘अघिल्लो बैठकमा जीवी राई के कहाँ छ भनेर प्रश्न गरेको थियो । त्यसको जवाफ पनि हामीले खोजका छौँ । उनी नेपालमा छैन र मलेसियामा छन् भनेर गृहमन्त्रीले भन्नुभएको थियो । इन्टरपोलमार्फत पत्राचार गरेको भन्नुभएको थियो । आइजिपी र गृहमन्त्री र गृह सचिव पनि बैठकमा हुनुहुन्छ त्यसो जवाफ चाहियो’ उनले भने ।

गुरुङले समिति सभापति रामहरी खतिवडाको बैठक सञ्चालन विधिमा पनि उनले प्रश्न गरे । गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भनेर राख्ने र सहकारी, लघुवित्त लगायतका क्षेत्राधिकार नभएको कुरामा पनि छलफल भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भनेर राख्ने यो पनि कुनै एजेण्डा हो ? यसमा मेरो गम्भीर आपत्ति छ मन्त्रालयको पनि कुनै ठोस विषयवस्तु तोकेको बैठक बोलाउनुपर्छ । आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर समितिले छलफल गर्नु राम्रो होइन ।

‘सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति छ । समितिको विषय क्षेत्र के के हुन् त्यसमा छलफल हुनुपर्छ । जताततै पसेर जे जे मन लाग्छ त्यो विषयमा छलफल गर्ने होइन । जो सँग आफ्नो रिस छ त्यो रिस पोख्ने थलो हो र यो । हामीले यस्तो गर्ने हो ? हाम्रो समितिले सहकारीको विषय हेर्ने हो र ? लघुवित्तको विषय हेर्ने हो ? सभापतिले के विषयमा छलफल गर्ने हो ट्वाक्क त्यही विषयमा छलफल गर्नुपर्‍यो त्यसका लागि हामीसँग छलफल गर्नुपर्‍यो’ उनले भने ।


क्लिकमान्डु