अन्तरिक राजस्व विभागका महानिर्देशकको सरुवा, अर्थ मन्त्रालयमा भित्रिए ३ सहसचिव



काठमाडौं । बजेट बनाउने बेलामा अर्थ मन्त्रालयमा धमाधम सरुवा सुरु भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत पाँचजना सहसचिवको सरुवा गरेको हो ।

बराल महानिर्देशकको जिम्मेवारीमा गएको दुई महिना नपुग्दै विभागीय प्रमुखको जिम्मेवारीबाट सरुवा भएका छन् । उनलाई अर्थ मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरि, अर्थ मन्त्रालयका सहसचिव अर्जुनप्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ ।

यसरी अर्थ मन्त्रालयका दुई सहसचिवलाई अन्य निकायमा सरुवा गर्दै मन्त्रिपरिषद् बैठकले तीन सहसचिवलाई अर्थ मन्त्रालयमा भित्र्याएको छ ।

अर्थ मन्त्रालय भित्रिने सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रहेर अहिले नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डीप्रसाद निरौला, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागका महानिर्देशक शिवलाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायणप्रसाद सापकोटा रहेका छन् ।

मन्त्रालयमा उनीहरूलाई जिम्मेवारी दिन बाँकी रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।


क्लिकमान्डु