एआईआईबीलाई नेपालमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको खोजीमा छलफल भएको थियो । एआईआईबीले यातायात, उर्जा र शहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।

महासंघका अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावनायुक्त देश भएको बताए । उनले एआईआईबी बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र एआईआईबी जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी दिए । ढकालले नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पु¥याउन सक्ने बताए ।

ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए । उनले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबीका अधिकारीहरुलाई जानकारी गराए । उनले मुलुक अहिले आन्तरिक उपभोग सुधारमा केन्द्रित भएको जानकारी गराए । ढकालले एआईआईबी नेपालमा धेरै महत्त्वपूर्ण परियोजनाहरूमा प्रमुख साझेदार भएको र सहकार्यका लागि नयाँ मार्गहरू खोज्न नेपाली उत्सुक रहेको धारणा राखे ।

अध्यक्ष ढकालले नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको जानकारी गराए । उनले राम्रो ‘डुइङ बिजनेस’ वातावरण बनाउन सरकार प्रक्रिया र नियमलाई सहज बनाउन गम्भीर रहेको बताए । उनले सम्भावित देशहरूसँग द्विपक्षीय लगानी सम्झौता गर्ने सरकारको योजनाबारे पनि अधिकारीहरूलाई जानकारी गराए । ढकालले द्विपक्षीय लगानी सम्झौताको ढाँचा छिट्टै टुंगो लाग्ने बताए ।

ढकालले आगामी अप्रिल २८ र २९ मा आयोजना हुने नेपाल लगानी सम्मेलनबारे अधिकारीहरुलाई जानकारी गराए । उनले एआईआईबी प्रतिनिधिमण्डललाई यो जानकारी सबै सदस्य राष्ट्रहरूमा फैलाउन अनुरोध गरे ।

ढकालले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले अगुवाइ गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । महासंघको अध्यक्षको हैसियतले नेपालको सामाजिक–आर्थिक विकासका लागि हामीले कुनै कसर बाँकी नराख्ने कुरामा म विश्वस्त हुन सक्छु भनी जानकारी दिए ।


क्लिकमान्डु