श्रमिकलाई विमानस्थलमा अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल सुधार गर्नुस्: गृहमन्त्री



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा/आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन् ।

मंगलबार कालिकास्थानमा रहेको अध्यागमन विभाग पुगेका गृहमन्त्री लामिछानेले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गरे ।

‘विदेशीका लागि अध्यागमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन,’ लामिछानेले भने, ‘अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु ।’

केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको भन्दै उनले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नु पर्ने बताए ।

अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने उनले बताए । जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको भए पनि प्रयास जारी राख्ने बताए ।

दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्न उनले आग्रह गरे ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए । विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए ।


क्लिकमान्डु