१ करोड ६२ लाख रुपैयाँको बोटविरुवा किन्दै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका क्षेत्रहरुमा हरियाली प्रवर्द्धनका लागि महानगरले १ करोड ६२ हजारका शहरी बोटविरुवाहरु किन्ने भएको छ ।

महानगरपालिकाको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले १ करोड ६२ लाख रुपैयाँको बोटविरुवा किन्न लागेको हो ।

महानगरले गौतम नर्सरीमार्फत १ करोड ६२ लाख २१ हजार १५० रुपैयाँ बराबरका शहरी बोटविरुवा (अर्बन प्लान्ट्स) खरिद गर्ने गरि बोलपत्र स्वीकृत गरेको छ ।

काठमाडौं महानगरपालिकाले यहि वर्षको जेठबाट हरियाली महानगर अभियान सुरु गरेको थियो । सोही अभियानअन्तर्गत महानगरका विभिन्न ठाउँहरुमा बोटविरुवा रोप्ने योजना रहेको छ ।

जसअनुसार महानगरले पहिलो चरणमा महानगरभित्र धुपी, समी र कपुरका विरुवाहरु रोपेको थियो भने विभिन्न ठाउँमा फूलहरु पनि रोपेको थियो । महानगरले यहि आर्थिक वर्षमा विभिन्न अन्य प्रजातीका बोटविरुवा, मौसमी फूल तथा गमलाहरु समेत राख्ने योजना रहेको छ ।

योसँगै महानगरले फूल तथा बोटविरुवाको व्यवस्थापनका लागि आवश्यक उपकरणलगायतका लागि पनि ठेक्का प्रस्ताव खोलेको थियो ।

उक्त प्रस्तावमा श्रीदेव सप्लायर्स, राज एण्ड रिवाज सप्लायर्स प्रालि, मर्स्यांग्दी इन्टरप्राइजेज र कुशल इन्टरप्राइजेजलाई सफल बोलपत्र दाताका रुपमा राखेर चैत २० गते आर्थिक प्रस्ताव खोल्ने जनाएको छ ।


क्लिकमान्डु