टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदर घट्यो, डेटा प्रयोगकर्ता स्थीर
काठमाडौं । नेपालमा टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदरमात्रै घटेको पाइएको छ । सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि नेपालमा इन्टरनेट खपतको वृद्धिदर पछिल्लो चार महिनादेखि स्थीर रहेको इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले बताए ।
‘टिकटक प्रयोकर्ता सक्रिय हुँदा नेपालमा करिब १.८ टेराबीट इन्टनरनेटको खपत हुन्थ्यो । त्यसपछि प्रयोगकर्ताले अरु माध्यम प्रयोगकर्ताले अरु विकल्प खोजेकोले प्रयोग घटेको छैन तर वृद्धिदर भने स्थीर देखिएको छ ’ पराजुली भने ।
टिकटकको विकल्पमा प्रयोगकर्ताले अरु सामाजिक सञ्जालहरु खोजेकाले नेपालमा इन्टरनेटको खपत भने नघटेको पराजुलीको दाबी छ ।
‘मेरो आफ्नै कम्पनी सुविसुको कुरा गर्ने हो भने दैनिक खपत घटेको देखिएको छैन’ उनले भने ।
अरु सेवाप्रदायकका प्रयोगकर्ताको पनि डाटा खपत नघटेको जानकारी आफूले पाएको उनले बताए ।
नेपालमा प्रयोगकर्ताले टिकटकको एक्सेस गर्न भिपीएन सहितको विकल्प खोजेकोले यस अघि प्रयोग हुने टिकटक वापतको व्याण्डविथ अरु माध्यमबाटै पूरा भएको आइस्पानको भनाइ छ ।
नेपालमा टिकटक नहुँदाको अवस्थामा सुविसुको इन्टरनेट खपत हेर्ने हो भने झन् बढेको उनको दाबी छ । अरु सेवाप्रदायको पनि पक्कै बढेको हुनुपर्ने उनले अनुमान गरे ।
पछिल्लो समय इन्टरनेटको खपत घटेको नभएर समग्रमा हेर्ने हो भने १० प्रतिशतले अरु माध्यमबाट टिकटक एक्सेस गर्न खोजेका कारण बढेको अनुमान पनि उनको छ ।
नेपालमा टिकटक सरकारले बन्द गरेको अवस्थामा यसलाई चलाउन सकिन्छ भन्ने समाचार र सूचना बढी प्रवाह भएकोले प्रयोगकर्ता थप बढेको हुनसक्ने उनी बताउँछन् ।
सरकारी सेवाप्रदायक नेपाल टेलिकमका प्रवक्ता हरि ढकाल पनि इन्टरनेट खपतको वृद्धिदर घटेको तर खपतमा कुनै कमी नआएको दाबी गर्छन् । ‘टिकटकको विकल्पमा अरु माध्यम प्रयोग भएको, टिकटमा अभ्यस्त भएका प्रयोगकर्ताले फेसबुकको रील प्रयोग गर्न थालेको सहितका कारण पनि टेलिकमको डाटा प्रयोगमा वा आम्दानीमा कुनै प्रभाव नपरेको छैन’ उनले भने ।