चारपाँग्रे सवारी साधनको एसेम्बलिङ उद्योग स्थापनाका लागि स्थीर नीति ल्याउन नाडाको माग



काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले चार पाङ्ग्रे सवारी साधनको एसेम्लिङ उद्योग स्थापना गर्न स्थिर नीति ल्याउन माग गरेका छन् ।

नाडाका प्रतिनिधिहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटगरी एसेम्लिङ उद्योग स्थापना गर्नका लागि स्थिर नीति ल्याउन माग गरेका हुन् ।

‘नेपालमा दुई पाँग्रे सवारी साधनहरुको एसेम्बलिङ उद्योगहरु खुल्दै गएको र चार पाँग्रे एसेम्बलिङ उद्योगहरु खुल्ने क्रममा रहेको तर सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोबाइल उद्यमी तथा व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेको जानकारी गराएका छन् । ‘अटोमोवाइल उद्योगलाई अघि बढाउनका लागि स्थायी नीति ल्याउन आवश्यक छ,’ बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भने ।

सरकारले गत फागुन २५ गते राजपत्रमार्फत् एजेन्सी, संशोधन र एकीकरण सम्बन्धी पहिलो संशोधन जारी गरेको र त्यसका केही बुँदाहरुमा द्धिविधा उत्पन्न भएकोले आवश्यक प्रष्टताका लागि मन्त्रीसँग आग्रह गरे ।

नाडाले अस्थिर महशुल दरले व्यवसायीहरु हतोत्साहित भईरहेको भन्दै महशुल दरहरुमा स्थिरता कायम गरिनु पर्ने बताए ।

‘विशेषगरी मेक इन नेपालको अवधारणाअनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोवाइल व्यवसायीहरुले अत्यधिक रुपमा सवारी साधनहरु उत्पादन गर्ने सीकेडी स्थापना गरिरहेका छन्’ उनले भने ‘औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगिहरुको मनोबलमा बृद्धि र यसलाई दिर्घकालीन रुपमा सफल बनाउन हाल अन्तःशुल्क महशुलमा दिइएको छुटको व्यवस्था कम्तिमा १५ बर्षसम्मको लागि कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनु पर्ने र यस्तो व्यवस्था भएमा उद्यमीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुनेछन् ।’

नाडाले एउटै ब्राण्डको पाट्र्स मुख्य उत्पादनकर्ताको अनुमतीबिना तेस्रो पक्षबाट निर्वोधरुपमा पैठारी हुदै आएकोमा एयरपोर्ट तथा भन्सार नाकामा सो सामानहरु नेपालको आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।

उक्त व्यवस्थाले स्वदेशमै स्थापना हुने सवारी साधन तथा अटोमोवाइल सम्बन्धी एसेम्बलिङ उद्योग, अटोमोवाइल स्पेयर पार्टस उद्योग, टायर उद्योग, लुव्रिकेण्टस उद्योग तथा व्याट्री उद्योगहरुको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गरिनु पर्ने जसले एकै क्षेत्रबाट सम्पूर्ण अटोमोवाइल्स उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने नाडाको दाबी छ ।

नेपाल र भारतविचको द्धिपक्षिय आर्थिक सम्बन्ध विस्तार गर्न, नेपालमा उद्योगहरुलाई आकर्षित गर्न, नेपालमा व्यापार सहज बनाउन र विदेशी लगानीलाई आकर्षित गर्न नेपालमा इन्टरनेशनल इकोनोमिक जोन स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । ‘नेपाल मै लुव्रिकेण्टस उद्योगहरु भएको अवस्थामा त्यसको संरक्षणका लागि नेपालमा उच्च गुणस्तरिय लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, नेपाल मै उत्पादन हुने सबै किसिमका अटोमोबाइल, स्पेयर पार्टस्, हेलमेट, व्याट्री, लुब्रिकेन्टस् तथा टायरहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था हुनु पर्ने तथा नेपालमा उत्पादित हेलमेट व्याट्री तथा टायरहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्थाको माग गरेका छन् ।

नाडाले उत्पादनको माग र आपुर्ति सन्तुलनमा राख्न लुब्रिकेन्टस् आयात गर्नको लागि आयातकर्ताले अनिवार्य रुपले एपीआईद्धारा जारी गरिएको गुणस्तर प्रमाणपत्र पेश गर्नुपर्ने जनाएको छ । नेपाल सरकारको मेक इन नेपालको उद्देश्यलाई साकार पार्न उद्योगलाई उत्पादनमा प्रोत्साहन गर्नुपर्ने र नगद प्रवाहमा राहत दिन आवश्यक भएको हुँदा हाल सीकेडी इम्पापोर्टमा भन्सार बिन्दुमा लिँदै आएको आरडीएफ कर यातायात व्यवस्था कार्यालयमा दर्ताको बखत मात्र साविक व्यवस्था अनुसार नै लिने व्यवस्था गरिनु पर्ने जनाएको छ ।


क्लिकमान्डु