१० वर्षमा आगलागीका २३ हजार घटना, २३ अर्बको क्षति



काठमाडौं । सोमबार साँझ करिब साढे ८ बजेबाट पोखराको काहुँ डाडामा आगलागी सुरु भएको थियो । उक्त आगोले भीषण रुप लिएसँगै पोखरा बजारदेखि पूर्वतर्फ रहेको काँहु डाँडामा सोमबार राति डढेलो देखिएको थियो ।

मंगलबार बिहानसम्ममा भने उक्त आगलागीलाई नियन्त्रणमा लिइएको थियो ।

नेपालमा पछिल्ला वर्षहरुमा यस्तै डढेलो तथा आगलागीका घटनाहरु बढ्दै गएका छन् । दैनिकजसो कुनै न कुनै ठाउँमा आगलागी भएको घटनाहरु सार्वजनिक भइरहेका छन् ।

सोमबार नै बर्दियाको बरबार्दिया नगरपालिकाको वडा नम्बर ७ स्थित सिँचाई टोलमा पनि आगलागी भएको थियो । उक्त आगलागीमा करिब २ लाख ४० हजार रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।

गृह मन्त्रालयको तथ्यांककाअनुसार पछिल्लो एक सातामा मात्रै २८६ वटा आगलागी तथा डढेलोका घटनाहरु भएका छन् । यी घटनामध्ये ९२ वटा वनजंगलमा लागेको डढेलो रहेको छ भने १९४ वटा अन्य आगलागीका घटनाहरु भएका छन् ।

एक सातामा नै ५ जनाको मृत्यु, १९ जना घाइते, ११५ पूर्वाधारमा क्षति र ६४ वटा चौपायाहरु आगलागीका कारण नष्ट भएका छन् । एक सातामा भएका आगलागीका घटनामा नै १४ करोड ५१ लाख ८० हजार रुपैयाँको अनुमानित क्षति भएको छ ।

सरकारी तथ्यांकअनुसार आगलागीका घटनाहरु पछिल्लो समय बढ्दै गएका छन् । र योसँगै क्षति पनि बढ्दै गएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चैत लागेसँगै धेरै ठाउँमा आगलागीको घटना भइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘चैत लागेसँगै हिजोआज धेरै ठाउँमा आगलागी भएका दुःखद खबरहरु आइरहेका छन्। यसले ठूलो धनजनको क्षति गरेको छ,’ ओलीले भनेका छन्, ‘आगलागीका धेरै घटना हाम्रो लापरबाहीले हुने गरेका छन्। यसबाट जोगिन सावधानी अपनाऔं।’

१० वर्षमा २३ हजार घट्ना, बढ्दै वनमा लाग्ने डढेलो

२०७० साउन १ देखि २०८० चैत ५ गतेसम्मको तथ्यांककाअनुसार हालसम्म २३ हजार १४२ वटा आगलागीका घटनाहरु भएका छन् ।

२०७० साउन १ देखि २०७१ असार मशान्तसम्म ९६८ वटा आगलागीका घटनाहरु भएका थिए । चालु आर्थिक वर्षमा चैत ५ गतेसम्ममा नै १० वर्षअघिको तुलनामा १७१ प्रतिशत बढि आगलागी भइसकेका छन् । चालु आवको सुरु भएयता चैत ५ गतेसम्ममा देशभर वनमा भएको आगलागीसहितका घटनाहरु २ हजार ६२९ वटा रहेका छन् ।

आव २०७१/२०७२ मा ६४२ वटा आगलागीका घटनाहरु भएका थिए । त्यस्तै, आव २०७२/०७३ मा १ हजार २४६, आव २०७३/०७४ मा १ हजार ३८१, आज २०७४/०७५ मा १ हजार ९१८, आज २०७५/०७६ मा ३ हजार ७४, आव २०७६/०७७ मा २ हजार ११३, आव २०७७/०७८ मा २ हजार ८२२, आव २०७८/०७९ मा २ हजार ५३५ वटा, आव २०७९/०८० मा ३ हजार ८१४ वटा र चालु आवको चैत्र ५ गतेसम्म २ हजार ६२९ वटा आगलागीका घटनाहरु भएका छन् ।

आगलागीका घटनाहरुमध्येमा वनमा लाग्ने डढेलोका घटनाहरुमा भने उच्च वृद्धि देखिएको छ ।

आव २०७६/०७७ मा कुल लागेका २ हजार ११३ आगलागीका घटनामध्ये ७ वटा वनजंगलमा लागेको डढेलोका घटनाहरु थिए । आव २०८०/०८१ को चैत्र ५ सम्ममा आइपुग्दा कुल २ हजार ६२९ आगलागीमध्ये १९० आगलागीहरु वन तथा जंगलमा लागेका डढेलोका घटनाहरु रहेका छन् ।

पाँच वर्षमा वन जंगलमा लागेको डढेलोका घटनाहरु ६१० वटा रहेका छन् । जसमध्ये आव २०७६/०७७ मा ७ वटा, आव २०७७/०७८ मा ६२, आव २०७८/०७९ मा ८३ वटा, आव २०७९/०८० मा २६८ र आव २०८०/०८२ को चैत्र ५ सम्म १९० वटा रहेका छन् ।

१० वर्षको तथ्यांकः डढेलोका कारण २३ अर्बको क्षति, ८७५ जनाको मृत्यु

एक दशकको अवधिमा भएका डढेलोका घटनाहरुका कारण २३ अर्बभन्दा धेरेको क्षति भएको छ । सरकारी विपद् पोट्रलकाअनुसार यो अवधिमा २३ अर्ब ६५ करोड ३१ लाख १२ हजार ७०१ रुपैयाँको क्षति बेहोर्नु परेको छ । र यहि अवधिमा आगलागीका घटनामा ८७५ जनाले ज्यान गुमाएका छन् ।

आव २०७०/०७१ मा ९६८ आगलागीका घटनाहरु हुँदा १ अर्ब ६१ करोड ८१ लाख, आव २०७१/०७२ मा ६४२ घटना हुँदा ८० करोड १३ लाख ५४ हजार, आव २०७२/०७३ मा १ हजार २४६ घटना हुँदा १ अर्ब ६९ करोड १३ लाख, आव २०७३/०७४ मा १ हजार ३८१ घटना हुँदा २ अर्ब ४१ करोड ५० लाख ११ हजार, आव २०७४/०७५ मा १ हजार ९१८ घटना हुँदा २ अर्ब ३ करोड २० लाख ८ हजार, आव २०७५/०७६ मा ३ हजार ७४ घटना हुँदा ४ अर्ब ९८ करोड १९ लाख ४५ हजार, आव २०७६/०७७ मा २ हजार ११३ घटना हुँदा १ अर्ब ६८ करोड ७६ लाख, आव २०७७/०७८ मा २ हजार ८२२ घटना हुँदा १ अर्ब ८६ करोड ११ लाख १ हजार, आव २०७८/०७९ मा २ हजार ५३५ घटना हुँदा २ अर्ब ४२ करोड ८६ लाख र आव २०७९/०८० मा ३ हजार ८१४ घटना हुँदा २ अर्ब ६४ करोड ९७ लाख ४६ हजार रुपैयाँको क्षति भएको छ ।

चालु आवको चैत्र ५ सम्म भएका२ हजार ६२९ आगलागीका घटनाहरुमा १ अर्ब ४८ करोड ६१ हजार ८ हजार रुपैयााको क्षति भएको छ ।

यहि अवधिमा ८७५ जनाले ज्यान गुमाएका छन् । आगलागीमा हुने मृत्युहरु मध्ये अधिकांश वन तथा जंगलमा लाग्ने डढेलोभन्दा बाहेकका आगलागीमा भएका छन् । त्यस्तै, यहि अवधिमा ३ हजार ८५ जना आगलागीकै कारण घाइते पनि भएका छन् ।

आगलागीमा १३ हजार पूर्वाधारमा क्षति, ७ हजारबढि चौपाया नष्ट

१० वर्षको अवधिमा भएका आगलागीका घटनाहरुमा १३ हजार ४५६ वटा पूर्वाधारमा क्षति भएका छन् ।

आव २०७०/०७१ देखि आव २०८०/०८१ चैत्र ५ सम्मको अवधिमा हरेक आर्थिक वर्षमा क्रमशः १ हजार ३१७, ७ सय २, २ हजार ५९, १ हजार २०८, १ हजार ६६५, १ हजार ८९०, ९ सय ४८, १ हजार १८५, ७ हजार ९४, १ हजार १७१ र ५१७ वटा पूर्वाधारमा क्षति भएका छन् ।

आव २०७५/०७६ यता आगलागीका कारण ७ हजार ८३७ वटा चौपायाहरु नष्ट भएका छन् । जसमा आव २०७५/०७६ मा ५४५ वटा चौपायाहरु नष्ट भएका छन् । त्यस्तै, आव २०७६/०७७ मा १ हजार २२३, आव २०७७/०७८ मा १ हजार ४८५, आव २०७८/०७९ मा १ हजार १५७, आव २०७९/०८० मा २ हजार २ हजार ३१३ र आव २०८०/०८१ को चैत्र ५ गतेसम्म १ हजार ११४ वटा चौपायाहरु आगलागीका कारण नष्ट भएका छन् ।


युवराज भट्टराई