![](https://clickmandu.com/wp-content/uploads/2024/02/sun-kanda.png)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीका आरोपी जीवन गुरुङ रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले गुरुङलाई १५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
न्यायाधीश जीवनप्रसाद उपाध्यायको इजलासले आइतबार उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका सल्लाहकार गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चैत २ गते मुद्दा दायर गरेको थियो ।
भन्सारले गुरुङ १३८ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा १ अर्ब ४० करोड ५५ लाख ३० बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो भने भन्सार चोरी पैठारी गरेको कसुरमा ५ वर्ष कैद सजाय हुनु पर्ने माग गरिएको छ ।
सुन तस्करीको आरोपमा पक्राउ परेको निवर्तमान राष्ट्रपति नन्द बहादुर पुनका सल्लाहकार जीवन कुमार गुरुङलाई पक्राउ पुर्जी जारी भएको ६८ दिनपछि प्रहरीले पक्राउ गरेको थियो ।
उच्च अदालत जाने तयारी
प्लाटिनम कलेजका कार्यकारी अध्यक्षसमेत रहेका गुरुङको मुख्य योजनामा सुन तस्करी हुने गरेको दाबी गर्दै भन्सार विभाग पुनरावेदनका लागि उच्च अदालत जाने तयारीमा छ । मुख्य योजनाकारलाई बाहिरै राख्नु ठिन नहुने भन्सारका अधिकारीहरु बताउँछन् ।
‘काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध भन्सार विभाग पुनरावेदनका लागि उच्च अदालत जाने तयारीमा छ’ विभाग स्रोतले भन्यो, ‘सुन तस्करीका मुख्य योजनाकारलाई बाहिर राखेर मुद्दा अघि बढ्नु उचित होइन ।’
तस्करी गरि ल्याइएको सुनसहित रंगेहात पक्राउ परेका मीन घले र जीवन गुरुङबीच सुन तस्करीका विषयमा कुरा भएको प्रमाण भेटिएपछि अदालतमा मुद्दा दर्ता गरिएको भन्सार कार्यालयले जनाएको छ ।
गुरुङले घलेसँग कुराकानी गर्न प्रयोग गरेका मोबाइलहरू फालेकाले सुन तस्करीका संलग्न अन्य व्यक्तिको विषय जानकारीमा नआएको भन्सारका अधिकारीहरूले बताए ।
प्रहरीले विभिन्न नम्बरको कल डिटेल अनुसन्धान गरिरहेकाले सुन तस्करीमा संलग्न अन्य ब्यक्तिको जानकारी क्रमश खुल्दै जाने स्रोतको भनाइ छ ।
सीआईबीले गरेको गुरुङको कल डिलेट अनुसन्धानमा वर्तमान अर्थमन्त्री वर्षमान पुन र गुरुङ बीच पटक पटक कुरा भएको देखिएको छ ।
भन्सार कार्यालयले गत पुस ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर गुरुङलाई पक्राउ गर्न आग्रह गर्दै प्रहरीलाई पत्राचार गरे पनि २ महिनासम्म गुरुङलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक हेमबहादुर गुरुङसँगको निकटताले प्रहरीले गुरुङलाई नियन्त्रणमा लिन समय लगाएको स्रोतको दाबी थियो ।
पर्वत स्थायी घर भएका जीवन गुरुङलाई सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको थियो ।
गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट बरामद भएको १४ किलो सुन तस्करीमा गुरुङ संलग्न रहेको भन्दै भन्सार कार्यालयले थप अनुसन्धानका लागि गुरुङलाई नियन्त्रणमा लिन खोजेको थियो ।
१४ केजी सुनसहित रंगेहात पक्राउ परेको चन्द्र घलेको बयानका आधारमा भन्सार कार्यालयले मीन घलेलाई पक्राउ गरेको थियो । मीन घलेले गुरुङको आदेशमा आफूले काम गरेको बयान दिएका थिए । गुरुङ घले पक्राउ परे लगत्तै फरार भएका थिए ।
मीन घलेले बयानमा क्रममा जीवन गुरुङ पूर्व उपराष्ट्रपति पुनको सल्लाहकार भइसकेको र गुरुङले नै काठमाडौंमा जम्मा हुने सुन सीमावर्ती क्षेत्रमा पुर्याउने गरेको बताएका थिए ।
प्रतिक्रिया