तेह्रथुमको फेदापमा आगलागी, दर्जन बढी घर जलेर नष्ट



विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भएको छ। जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको छ ।

पछिल्लो जानकारीअनुसार मयन्तापामा दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् ।

आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सदरमुकाम र आसपासका चौकीबाट प्रहरी तथा सेनाको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन ।

यसअघि शनिबार तेह्रथुमकै आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा आगलागी हुँदा ४ वटा घर जलेका थिए। प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् ।

शनिबार मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका थिए ।

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ शनिबार अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका थिए ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आइतबार भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ । भोजपुरकै हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा शनिबार आगलागी हुँदा १ बालिका र २ बालकको मृत्यु भएको थियो ।


क्लिकमान्डु