सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी



काठमाडौं । सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ ।

शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताए । उनले कार्यदलको आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए । उनले कार्यदलले तयार पारेको सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शिर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताए ।

उनले साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौति समाधान,आम मानिसहरुमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको बताए ।

उनले राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताए । उनले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शिर्ष नेताहरुले गर्ने बताए ।

उनले साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको बताए । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।


क्लिकमान्डु