हवाईजहाजका पाटपुर्जाको जाँचपास रोकिँदा ७ विमान ग्राउण्डेड, एक सातामा नखुले सबै उडान ठप्प !



काठमाडौं । हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने पाटपुर्जाको जाँचपास डेढ महिनादेखि रोकिएको छ । वायुयानको पाटपुर्जा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आएर रोकिएका कारण आन्तरिक उडानका ७ वटा वायुयानले आवश्यक पाटपुर्जा पाउन सकेका छैनन् । जसका कारण विमानहरु ग्राउण्डेड भएको वायुसेवा सञ्चालक संघको भनाइ छ । नेपालमा आउने हवाई जहाजको पाटपुर्जाको जाँचपास पछिल्लो ४५ दिनदेखि रोकिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

वायुसेवा कम्पनीहरूले हवाईजहाजको पाटपुर्जाको जाँचपास रोकिएर निम्तिएको समस्याको बारेमा तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अर्थ मन्त्राललाईसमेत जानकारी गराएका छन् ।

संघले अर्थमन्त्री वर्षामान पुन र पर्यटन मन्त्री हितबहादुर तामाङलाई भेटेरै वायुयानका पाटपुर्जाको जाँचपास गराइ उडान अवतरणमा आएको बाधा फुकाइदिन आग्रह गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा अत्यावश्यक सेवामा पर्ने हवाई उडान रोकिने गरी विभिन्न वायुसेवा कम्पनीका पाटपुर्जाको जाँचपास हुन नसकेको हो । ती पाटपुर्जा रोकिएका कारण अहिले ७ वटा वायुयान ग्राउण्डेड भइसकेका छन् भने एक साताभित्र भन्सार जाँचपास नभए आन्तरिक वायुसेवाको उडान अवतरण नै ठप्प हुने चेतावनी वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले दिए ।

हवाईजहाज तथा हेलिकप्टरका सम्पूर्ण पाटपुर्जा आयातमा सरकारले वर्षेनी आर्थिक ऐनबाट १ प्रतिशतका दरले भन्सार महशुल लगाउँदै आएको छ । एउटै मोडेलको हवाईजहाज तथा हेलिकप्टरमा सयौं थरीका पार्टपुर्जाहरु आवश्यक पर्छन् । वर्षेनी आर्थिक ऐनमा सम्पूर्ण पार्टपुर्जाहरुको नाम समावेश गर्न सम्भव नभएकोले सात प्रकारका पार्टपुर्जामा मात्रै हार्मोनिक कोड उल्लेख गरिँदै आएको र बाँकी पार्टपुर्जाहरुलाई ‘अन्य’ शब्दले समेटिँदै आएको छ ।

वायुयानका पाटपुर्जा उसै त महँगो छ त्यसमा पनि उच्च भन्सार तिरेर ल्याउँदा लागत बढ्छ भने अहिलेकै भाडादरबाट जहाज उडाउनै सकिँदैन

हवाईजहाज तथा हेलिकप्टरमा लाग्ने सम्पूर्ण पार्टपुर्जाहरु विगत साढे २ दशकेदेखि नै ‘अन्य पार्टपुर्जाहरु’ अन्तर्गत राखिएको भए पनि हार्मोनाइज कोड भएका सात प्रकारका पाटपुर्जामा झै एक प्रतिशतका दरले मात्रै भन्सर महशुल लाग्दै आएको थियो । पछिल्लो समय हवाई जहाजमा लाग्ने अन्य शब्दले समेटिने गरेका पाटपुर्जामा भन्सार छुट दिन नमिल्ने र १ प्रतिशतको भन्सार तिरेर ल्याउन नपाइने भनेर भन्सारले रोकेको संघको भनाइ छ ।

हवाईजहाजका अन्य पाटपुर्जाको १५ देखि ३० प्रतिशत भन्सार शुल्क लगाउने भनेर जाँचपास नगरेको जानकारी आएको कार्कीले क्लिकमान्डुसँगको विशेष कुराकानीमा बताए । ‘वायुयानका पाटपुर्जा उसै त महँगो छ त्यसमा पनि उच्च भन्सार तिरेर ल्याउँदा लागत बढ्छ भने अहिलेकै भाडादरबाट जहाज उडाउनै सकिँदैन,’ उनले भने, ‘ लागत धान्न नसक्ने अवस्थामा जहाज उडाउन नसिकने अवस्था सिर्जना भएकोले हवाईजहाज ग्राउण्डेड गरेर बस्नुपरेको हो ।’

१ प्रतिशतको भन्सारमै वायुयानका पाटपुर्जा आयात नहुने हो भने आन्तरिक वायुसेवाका सबै उडान एक सातापछि ठप्प हुने वायु सेवा सञ्चालक संघको चेतावनी छ

कार्कीका अनुसार सा-साना सामान उपलब्ध नहुँदा र त्यसलाई फेर्न नपाउँदा हवाई उडानमा पर्ने जोखिम, हवाई जहाजमा निश्चित समयपछि समान फेर्नै पर्नेसहितका कारण पाटपुर्जा नआउँदा जहाजको उडान नै रोक्नुपरेको हो । ‘पछिल्लो समय कुनै नयाँ ऐन वा कानुन आएर भन्सार जाँचपास नभएको होइन, एउटा भन्सार अधिकृतलाई १ प्रतिशतमा दिनु हुँदैन भन्ने लागेका आधारमा अहिले सबै वायुसेवालाई समस्यामा पारिएको छ’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आउने सबै हवाईजहाज तथा हेलिकप्टरहरुमा प्रयोग हुने अन्य पार्टपुर्जामा पनि १ प्रतिशत भन्सार दर कायम हुँदै आएको थियो । आर्थिक ऐन, २०८० ले दरबन्दी र वर्गीकरणमा पनि हवाई जहाजको पाटपुर्जामा १ प्रतिशत मात्रै शुल्क तिरेर भन्सार जाँचपास हुने व्यवस्था गरेको छ । तर सो व्यवस्था विपरित हवाईजहाज तथा हेलिकप्टरको अन्य पाटपुर्जा रोकिएको छ ।

अझै एक साता १ प्रतिशतको भन्सारमै वायुयानका पाटपुर्जा आयात नहुने हो भने आन्तरिक वायुसेवाका सबै उडान प्रभावित हुने संघको भनाइ छ । ‘यही अवस्था रही रहने हो भने एक सातापछि पार्टपुर्जाको अभावले सम्पूर्ण वायुसेवाका नियमित उडान सेवा ठप्प पार्न बाध्य हुनेछौं’ कार्कीले भने ।

भन्सारले वायुयानका पाटपुर्जाको जाँचपास रोकेपछि वायुसेवा कम्पनीहरुका प्रतिनिधि र संघका पदाधिकारीले अर्थ मन्त्रालय, भन्सार विभाग तथा त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका पदाधिकारीसँग पटक पटक आपसी छलफल र संवादसमेत गरिसकेका छन् । वायुसेवा सञ्चालक संघ र वायुसेवाका कर्मचारीको प्रयासले समस्याको समाधान नभए पछि अर्थ मन्त्रालयमा गुनासो पोख्न जानुपरेको संघक अध्यक्ष कार्कीले बताए ।

वायुसेवा सञ्चालक संघले मंगलबार (फागुन २९) मा सम्बन्धित पार्टपुर्जाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास हुन नसकेको सम्बन्धमा अर्थ मन्त्रीलाई लिखित जानकारी गराएको छ । हवाई जहाजका पाटपुर्जाको जाँचपास नभएकै कारण हाल करिब २० प्रतिशत वायुयान ग्राउण्डेड भइसकेको संघको दाबी छ ।

वायुसेवा कम्पनीका अनुसार सानो पाटपुर्जा भए पनि अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको मूल्य मान्यता र नेपालको नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेका मापदण्ड पूरा नभएसम्म हवाईजहाजमा जडान गर्न वा सञ्चालन गर्न पाईंदैन । सबै मापदण्ड र शर्त पूरा भएका तथा कानुन बमोजिम आएका पाटपुर्जा रोकेर भन्सारले वायुसेवा कम्पनीमाथि अन्याय गरेको कार्कीको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता गगनबहादु बिकका अनुसार भन्सारको प्रक्रिया पूरा गरेका कुनै पनि सामान रोकिएको छैन । सम्बन्धित निकायले गोदामा रहेको सामान निकासिका लागि प्रज्ञापनपत्र भरे अनुसार नै सामानाको जाँचपास भइरहेको उनको भनाइ छ।

वायुसेवाहरुको हकमा घोषणा गरेर ल्याएको सामानको भन्सार जाँचपास नरोकिएको उनले बताए । नेपाल पारवाहन तथा गोदाम कार्यालयमा ७ दिनभित्र नछुटाएका सामानलाई भन्सार कार्यालयले जफत गर्ने गरेको छ । प्रज्ञापनपत्र भरेर नआएका र प्रक्रिया नपुगेको सामान भन्सारमै रहेको र कुनै पनि सामान भन्सार शुल्कका कारण नरोकिएको बिकको दाबी छ । ‘भन्सारको कारण कुनै पनि सामान रोकिएको हुँदैन र छैन पनि । हवाई जहाजको पाटपुर्जा आयातमा पनि १ प्रतिशत भन्सारमै वा आर्थिक ऐनले दिएको अधिकार अनुसार नै जाँचपास भइहेको छ’ उनले भने ।


राजु बास्कोटा