साताको सेयर बजारः तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि, सवा १३ अर्बको कारोबार



काठमाडौं । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको सेयर बजारमा राम्रैसँग देखियो । बजारमा निकै उतार चढाब भयो । सरकार परिवर्तनले सेयर बजारलाई निकै प्रभावित बनायो ।

तीव्र उतारचढावका बजारमा लगानीकर्ता भने निरास बन्नु भने परेन । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि १ हजार ९६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ ।

सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अंक अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो ।

यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ । आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो ।

मङ्गलबार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता शेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ ।


क्लिकमान्डु