तनहुँको बुल्दीखोलामा ज्वालामुखी कन्स्ट्रक्सनले पाँच करोडमा बनाउने भयो पक्की पुल



फाइल फोटो

तनहुँ । तनहुँको व्यास नगरपालिका–२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ ।

पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । व्यास नगरपालिकाले धादिङको ज्वालामुखी कन्स्ट्रक्सनसँग बुल्दीखोलामा पुल निर्माणका लागि बुधबार सम्झौता गरेको हो ।

बुल्दीखोलामा पुल निर्माणका लागि गत पुस ३ गते विद्युतीय बोलपत्र आव्हान भएको थियो । अनलाइनमार्फत पेस भएका तीन फर्मका विद्युतीय बोलपत्रमध्ये नगरपालिकाको स्वीकृत विभागीय लागत अनुमान मूल्यअभिवृद्धि कर र कन्टिजेन्सी बाहेक पाँच करोड ८२ लाख ४० हजार नौ सय ४९ मा बोलपत्र दर्ता गराएको ज्वालामुखी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

निर्माण कम्पनीका सञ्चालक धर्मराज लोहनी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीबीच ठेक्का सम्झौता भएको हो । पुल निर्माण १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तोकिएको समयमा निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको बताए ।


क्लिकमान्डु