एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छः झलनाथ खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् ।

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन् ।

नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताए । उनले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताए । एकता अंकमाल गरेर, रमाईलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादी खाएर नहुने नेता खनालको प्रतिक्रिया थियो । उनले बैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे । नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरु बीच नै एकीकरणको प्रक्रिया शुरु हुने बताउ ।

‘अब हामी खास अवस्थामा बिद्रोह गरेर अलग पार्टी बनायौं । यी सबै घटनाक्रमहरुको बारेमा र नेकपा आफैँ एउटा बडो शक्तिशाली पार्टी १० लाख भन्दा बढी पार्टी सदस्यहरु भएको पार्टी थियो । दुई तिहाई बहुमत संघीय संसदमा थियो । देशका ६ वटा प्रदेशहरुमा हामीसँग पर्याप्त बहुमत थियो’ उनले भने, ‘तलपनि पालिकाहरुमा ७५३ वटा पालिकाहरुमा ४५४ पालिकामा हाम्रो बर्चश्व थियो । यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो । आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहालोकनका विषयहरु हुन् । र प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ । म त्यो सबैलाई आह्वान गर्छु । कमजोरी सबैका भएका छन् । ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो । तर विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न । हामीले आजको आवश्यकतामा एकतावद्ध हुँदै क्रमशः विगतका कुराहरुको पनि समिक्षा गर्दै हामी अगाडि बढ्न थाल्यौँ भने बिस्तारै एकताका आधारहरु फैल्दै जान्छन्, बिस्तार हुँदै जान्छन् ।’

नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) को बीचमा एकता कहिल्यै हुनुहुँदैन भन्ने नरहेको उनले बताए । नेताहरुमा जुन आग्रह हुन, पूर्वाग्रह, इगोहरु छन्, यी चिजहरुलाई अन्त्य गर्नुपर्ने बताए ।

‘इगो, आग्रह र पूर्वाग्रह भनेको माक्र्सवाद होइन । त्यो निम्न पूँजीवाद हो । निम्न पूँजीवादलाई निर्ममतापूर्वक उखेलेर फ्याँक्ने हो भने हामीसँग एउटा निष्पक्ष क्रान्तिकारी दृष्टिकोण, माक्र्सवादी दृष्टिकोण मात्र बाँकि रहन्छ । अनि त्यो दृष्टिकोणले एकले अर्काको कमजोरीलाई राम्रोसँग देख्न सक्छन् । त्यसले एकले अर्कोलाई रचनात्मक ढंगले आलोचना गर्नसक्छ । र त्यसलाई हटाउनका लागि आग्रह गर्नसक्छ’ उनले भने, ‘र हरेक पार्टीले पनि त्यसलाई हटाउन कुनै गाह्रो हुँदैन । अनि त्यस्तो अवस्थामा पुगेर विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र । तर एकता भनेको अंकमाल गरेर चाहीँ हुँदैन । एकता भनेको रमाईलोसँग भेटघाट लड्डु आदि इत्यादी खाएर हुँदैन । एकता भनेको वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्छ । त्यसो हुनाले त्यो कुरामा मिल्दै गयो भने एकता हुन्छ । अहिले चाहीँ यो कार्यगत एकता हो हेर्नुस् । कार्यगत एकता आफैंमा एउटा महत्वपूर्ण स्टेप हो । त्यो स्टेपबाट अगाडि बढदै गएपछि कम्युनिष्टहरुको बीचमा, वामपन्थी समूहहरुको बीचमा पार्टी एकीकरणका सम्भावनाहरु बढ्छन् ।’

नेता खनालले कम्युनिष्टहरुबीचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरुले आ-आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्दै कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता औंल्याए ।


क्लिकमान्डु