हकप्रदका नाममा जथाभावी लगानी गर्दै हुनुहुन्छ ? यी हुन् वित्तीय अवस्था कमजोर भएका कम्पनी



काठमाडौं । अहिले जलविद्युत कम्पनीले धमाधम हकप्रद सेयर निष्कासन गरि रहेका छन् । केही कम्पनीलाई अहिले हकप्रद सेयर निष्कासन गरिरहेका छन् ।

केही कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति लिएर धितोपत्र बोर्डबाट पनि स्वीकृती लिइसकेका छन् । केही कम्पनी अझै धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् । अहिलेसम्म १८ कम्पनी हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । जसमा ७ वटा कम्पनी अझै पनि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् ।

अहिले जलविद्युत आयोजनाहरुले जनताबाट पुँजी संकलन गर्ने बाटो हकप्रद सेयरलाई बनाएका छन् । हकप्रद सेयर निष्कासन गर्ने कम्पनीहरुको वित्तीय अवस्था भने मजबुत छैन । १८ वटा कम्पनीमा चालु आवको दोस्रो त्रैमाससम्म ८ वटा कम्पनीको नाफा ऋणात्मक रहेको छ । बाँकी कम्पनी नाफामा रहेका छन् । यस्तै ९ वटा कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ सय रुपैयाँभन्दा कम हुनेमा १२ वटा कम्पनी रहेका छन् ।

धेरै कम्पनी सेयरधनीलाई लाभांश समेत दिन नसक्ने अवस्थामा छन् । त्यस्ता कम्पनीले पनि जनताबाट हकप्रद सेयरको नाममा पैसा उठाउन थालेका छन् । नोक्सानमा रहेका, प्रतिसेयर आम्दानी ऋणात्मक रहेका, प्रतिसेयर नेटवर्थ सयभन्दा कम अर्थात न्यून रहेका कम्पनीमा लगानी गर्नु भनेको जानाजान आफ्नो लगानी गुमाउनु सरह हुने लगानीकर्ताहरुको तर्क छ ।
तत्कालका लागि यस्ता कम्पनीले लाभ दिने भए पनि दीर्घकालमा भने लाभ नदिने नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारको भनाइ छ ।

‘नोक्सानमा रहेका, प्रतिसेयर आम्दानी ऋणात्मक रहेका, प्रतिसेयर नेटवर्थ सयभन्दा कम अर्थात न्यून रहेका कम्पनीमा लगानी गर्दा निकै ध्यान पुर्याउनु पर्छ’ उनले भने, ‘यस्ता कम्पनीमा लगानी गर्दा विचार गरौं, सकेसम्म नगरौं, लगानी गर्दा कम्पनीको विवरणपत्र हेरेर, दीर्घकालीन योजना हेरेर मात्रै लगानी गर्नुपर्छ ।’

थोरै पुँजी हुने यस्ता खाले कम्पनीको मूल्यमा खेल्न सजिलो हुने भएर सोझा लगानीकर्ता डुब्न सक्ने उनको तर्क छ ।

कुन कम्पनीको कति हकप्रद सेयर ?

खानीखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभाले समेत पारित गरिसकेको छ । कम्पनीले भने सेयरधनीलाई यो पटक लाभांश दिएको छैन ।

कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ । १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ । पुस मसान्तसम्म कम्पनीको नाफा १ करोड ४८ लाख ३७ हजार रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी ३ रुपैयाँ १९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ८८ रुपैयाँ ६५ पैसा रहेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

अहिले कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । पुस मसान्तसम्म कम्पनी ५ करोड १७ लाख ५ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८७ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३३ पैसा रहेको छ ।

दोर्दी खोला जलविद्युत कम्पनी

दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कम्पनको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन गरेपछि २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

पुस मसान्तसम्म कम्पनीले ३ करोड १८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ०६ पैसा रहेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले शतप्रतिशत सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पुस मसान्तसम्म २ करोड ९३ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ८५ पैसा रहेको छ ।

पिपुल्स पावर कम्पनी

पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गरेर ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाका मर्मतसंभार गर्न, बाँकी रहेको भुक्तानीका लागि उक्त पैसा खर्च गर्ने छ । पुस मसान्तसम्म कम्पनीको नाफा ४२ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ९७ रुपैयाँ ४७ पैसा रहेको छ ।

सिंगटी हाइड्रो इनर्जी

घाटामा रहेको सिंगटी हाइड्रो इनर्जीले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले फागुन २ गते बुधबारदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन गरेपछि २ अर्ब ९० रुपैयाँ पुग्नेछ ।
कम्पनी पुस मसान्तसम्म ४२ लाख २८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । प्रति सेयर आम्दानी २२ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४२ पैसा रहेको छ ।

दिव्यश्वरी हाइड्रोपावर

दिव्यश्वरी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरेर बैंकको कर्जा तिर्न लागेको छ ।

हाल बैंकको चुक्ता पुँजी १ करोड ४३ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि ५२ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ३ रुपैयाँ ४२ पैसा रहेको छ ।

रिडी पावर

निकै नोक्सानमा रहेको रिडी पावर कम्पनीले अहिले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । जुन चैत ८ गतेसम्म कायमै रहन्छ । कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गरिरहेको छ ।

पुस मसान्तको वित्तीय अवस्था हेर्ने हो भने कम्पनी नोक्सानमा रहेको छ । पुस मसान्तसम्म ९ करोड २६ लाख ८ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९६ पैसा ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ ९६ रुपैयाँ २५ पैसा रहेको छ ।

अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावर कम्पनीले पनि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले फागुन १७ गतेदेखि १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको छ । आवेदनकर्ताले चैत ७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माण गर्न आवश्यर्क स्वपुँजीका लागि, पीके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने र ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ काबेली-१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण तिर्न प्रयोग हुनेछ । पुस मसान्तसम्म कम्पनी नाफा २ करोड ३२ लाख ६१ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ४३ पैसा छ ।

आँखुखोला जलविद्युत आयोजना

आँखुखोला जलविद्युत आयोजनाले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि २ अर्ब रुपैयाँ पुग्ने छ ।
पुस मसान्तसम्म कम्पनीको नाफा १ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ रहेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यसको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

शिव श्री हाइड्रोपावर

शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

पुस मसान्तसम्म कम्पनी ८ करोड ९३ लाख ६२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ११ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ३४ रुपैयाँ ३६ पैसा रहेको छ ।

बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

३ करोड ७३ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ २ पैसा रहेको छ ।

घलेम्दी हाइड्रोपावर

घलेम्दी हाइड्रोपावर कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । पुस मसान्तसम्म कम्पनी १ करोड ८६ लाख २७ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ २६ पैसा रहेको छ ।

लिवर्टी इनर्जी

लिवर्टी इनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ७५ करोड रुपैयाँको हकप्रद निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । कम्पनी पुस मसान्तसम्म ७ करोड ११ लाख १० हजार रुपैयाँ नोक्सानमा रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ६२ रुपैयाँ ८५ पैसा रहेको छ ।

ङादी ग्रुप पावर

ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासनको तयारीमा छ ।

कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२३ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

पुस मसान्तसम्म कम्पनीले ३ करोड ३२ लाख ५२ हजार रुपैयाँ नाफामा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४८ पैसा रहेको छ ।

हिमालय उर्जा विकास कम्पनी

हिमालय उर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको छ । कम्पनीले ९९ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । हकप्रद सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।
पुस मसान्तसम्म कम्पनी १८ लाख ७३ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दनी १८ पैसा ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ ८२ रुपैयाँ ०१ पैसा रहेको छ ।

छ्याङदी हाइड्रोपावर कम्पनी

छ्याङदी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको छ । पुस मसान्तसम्म कम्पनी १० लाख ५२ हजार नाफामा रहेको छ । प्रति सेयर आम्दानी भने ५४ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ ९१ रुपैयाँ ४९ पैसा रहेको छ ।


सोभित थपलिया