५५ हजारमै बुलेट बाइक पाइने, भन्सारले निकाल्यो लिलामी



काठमाडौं । के तपाईंलाई बुलेट बाइक चढ्न मन छ?

नेपाली बजारमा रोयल एनफिल्ड (बुलेट) बाइक किन्नु पर्यो भने लाखौं मूल्यमा पर्छ । तर, भन्सार कार्यालयले लिलामीमा भने ५५ हजारमै बुलेट बाइक राखेको छ ।

जनकपुर भन्सार कार्यालयले ५५ हजार कायम मूल्यमा बुलेट बाइक लिलामीका लागि सूचना निकालेको हो ।

जनकपुर भन्सारबाट विभिन्न ब्राण्डका ६१ वटा मोटरसाइकलहरुका साथै पत्रु लिलाम बिक्री गर्ने भएको छ ।

भन्सार विभागअन्तर्गतको जनकपुर भन्सार कार्यालयले भन्सार नियमावली, २०६४ को नियम ३५ (१) बमोजिम विभिन्न सवारी साधनहरुलाई सिलबन्दी लिलाम बिक्रीको सूचना प्रकाशित गरेको हो ।

कार्यालयकाअनुसार भन्सार छलि चोरी निकासी तथा पैठारी अभियोगमा विभिन्न मितिमा दाखिला भई कार्यालयबाट जफत गरिएका विभिन्न सवारी साधनलाई लिलाम गर्न लागिएको हो । उक्त सवारी साधनहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा कार्यालयले गोप्य सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने जानकारी दिँदै कार्यालयले खरिद गर्न इच्छुकले २१ दिनभित्र सिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

लिलाम बिक्रीका लागि राखिएका सवारी साधनहरुमा बजाज, टिभिएस, हिरो, हन्डा, यामहा, रोयल इनफिल्डजस्ता कम्पनीका ६१ वटा मोटरसाइकलहरु रहेका छन् । यीसँगै पुनः सवारी साधनको प्रयोग नगर्ने गरि पत्रुमा लिलाम बिक्रीका लागि विभिन्न १२४ थान मोटर साइकल पनि रहेको कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु