पाल्पा सिमेन्टको व्यापार ४८ प्रतिशतले बढ्यो, ६ महिनामा २ अर्बको कारोबार



काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रीको व्यापार ४८ प्रतिशतले बढेको छ । बजारमा सिमेन्टको माग बढ्दा कारोबार उच्च भएको हो ।

कम्पनीको व्यापार सन् २०२३ को ६ महिनाको तुलनामा सन् २०२४ को सोही अवधिमा व्यापार ४८ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२४ को ६ महिनको अवधिमा १ अर्ब ८० करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ४ अर्ब ४४ करोड रुपैयाँ र सन् २०२० मा ३ अर्ब रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१९ देखि क्लिङ्कर र सन् २०२० देखि सिमेन्टको व्यवसायिक उत्पादन सुरु गरेको थियो । नवलपरासीमा रहेको सिमेन्ट उद्योगले वार्षिक ५ लाख ९० हजार मेट्रिक टन क्लिङ्कर र ७ लाख ३० हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ ।

आरएमसी ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७ अर्ब २७ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ५ अर्ब ५८ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६८ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीलाई रिमूभ्ड फ्रम वाच विथ नेगेटिभ इम्लिकेशनको रेटिङ दिएको छ ।

कम्पनीअनुसार सन् २०२४ मा सिमेन्टको माग बढ्दा व्यापार उल्लेख्य भएको जनाएको छ । पछिल्लो समय सरकारले सिमेन्ट निर्यातमा नगद अनुदानको व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले भारततर्फ सिमेन्ट र क्लिङ्करको निर्यात बढ्दो छ ।

त्यस्तै, कम्पनीले सन् २०२४ मा सिमेन्ट र क्लिङ्कर निर्यात हुँदा कारोबार बढेको उल्लेख छ । सन् २०२४ मा व्यापार गरेकोमध्ये २२ प्रतिशत हिस्सा निर्यातको छ । सन् २०२३ मा ८ प्रतिशत थियो । कम्पनीको देशभर ५ सय डिलर छन् ।


क्लिकमान्डु