सेयर बजारमा टिकेन लगानीकर्ताको खुसी, बजार राताम्मे



काठमाडौं । सेयर बजारका लगानीकर्ताको खुसी धेरै समय टिक्न पाएन् ।

सत्ता समिकरण फेरबदल भएसँगै सोमबार ११७.७० अंक अर्थात ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको बजार मंगलबार भने राताम्मे बनेको छ । बजारमा आज सेलिङ प्रेसर निकै देखिएको छ ।

सोमबार सत्ता समिकरण फेरिएर कम्युनिष्टको सरकार बन्ने र अर्थमन्त्री विष्णु पौडेल हुन्छन होला भन्ने आशंकाको भरमा बजार बढाइएको थियो । त्यसको असर भने मंगलबार परेको छ ।

मंगलबार बजार ७०.३१ अंकले घटेर परिसूचक २००७.६९ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै घटन थालेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ९१ लाख २२ हजार ७३५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३३.६२, विकास बैंक १४७.७९, वित्त ५०.५५, होटल १९६.७१, जलविद्युत ११३.२९, जीवन बिमा ३६३.१२, उत्पादन तथा प्रशोधन २९७.३३, माइक्रोफाइनान्स ४५.५४, निर्जीबन बीमा २२७.६६, अन्य समूहको ७७.०३, ट्रेडिङ समूहको उपसूचक ६१.२७ अंकले घटेको छ ।

कारोबारमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । कारोबारमा गुराँस लघुवित्त, माहुली लघुवित्त, मोलुङ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बोटलर्स नेपाल बालाजुको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

जोशी हाइड्रोपावर, बोटलर्स नेपाल तराई, प्रभु इन्स्योरेन्स, बीपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४१ करोड ९१ लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र घोराही सिमेन्ट रहेका छन् ।


क्लिकमान्डु