भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव बैकुण्ठ अर्याललाई बिदामा राख्ने प्रधानमन्त्रीको तयारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव डा बैकुण्ठ अर्याललाई बिदामा राख्ने तयारी गरेका छन् ।

निजामती क्षेत्रमा ‘राम्रो छवि’ बनाएका अर्याललाई प्रचण्ड सरकारले नै जेठमा मुख्य सचिवमा नियुक्त गरेको थियो ।

उनीअघिका मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अर्याललाई मुख्यसचिव नियुक्त गरेका प्रधानमन्त्री प्रचण्डले नै उनलाई बिदामा राख्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार उनी आफै बिदामा बसुन् भन्ने पहिलो विकल्प हो, नभए भोलि (सोमबार) सम्म केहि होला ।

‘प्रधानमन्त्री छलफलमा हुनुहुन्छ, भोलिसम्म केहि होला,’ स्रोतले क्लिकमान्डुलाई बतायो ।

पछिल्ला महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अर्यालसँग सोधपुछ गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा घोटाला भएको भन्दै अख्तियारमा परेको उजुरीका सम्बन्धमा उनको नाम पनि मुछिएको हो ।

अर्यालले नीतिगत निर्णयमा आफ्नो नाम कसैले मुछेपछि आफूबाट कुनै गल्ती कमजोरी नभएको बयानमा जिकिर गरेको अख्तियार स्रोतले जनाएको छ ।

मुख्यसचिवको आफनो ८ महिने कार्यकालमा उनीमाथि टेरामक्स प्रणालीभन्दा अघि पेमेन्ट गेटवे विवादमा पनि अख्तियारले बयान दिन बोलाएको थियो ।

नेपालको कर्मचारीतन्त्रमा अर्याल तुलनात्मकरुपमा इमान्दार तथा विद्धान सचिव मानिन्छन् ।

काठमाडौंको फर्पिङमा जन्मिएका अर्याल २०४६ सालमा नायब सुब्बाको परीक्षा उत्तीर्ण गरी निजामती सेवा प्रवेश गरेका थिए भने २०४९ सालमा शाखा अधिकृत बनेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नात्तकोत्तर गरेका उनले नर्वेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

वित्त आयोगमा पनि सचिव भएर काम गरेका अर्याल प्राकृतिक स्रोतको बाँडफाँट र वित्त व्यवस्थापनका ज्ञाता हुन् । उनले वित्त आयोग, वाणिज्य मन्त्रालय, र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवकारुपमा जिम्मेवारी सम्हालेका थिए । सहसचिव हुँदा उनले योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर काम गरेका थिए ।

मुख्यसचिवको भूमिकामा निजामति प्रशासन र राजनीतिक नेतृत्व दुबैबाट रुचाइएका भनिएका अर्याललाई प्रधानमन्त्री प्रचण्डले विदामा बस्न निर्देशन दिनुको पछाडि राजनीतिक कारण रहे पनि कर्मचारी प्रशासनमा यसले मनोबल गिराउने अन्य सचिवहरु बताउँछन् ।


क्लिकमान्डु