१० बैंकर पक्राउ प्रकरण: सेञ्चुरीका सञ्चालकको ‘डिटेल’ माग्दै प्रभु बैंकलाई सीआईबीको पत्र



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरुमाथि पनि अनुसन्धान अघि बढाएको छ । सीआईबीले प्रभु बैंकलाई तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरुको विस्तृत विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।

मंगलबार सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका दुई सीईओ (तुलसीराम गौतम र मनोज न्यौपाने) सहित १० कर्मचारीलाई पक्राउ गरेको थियो । सोही दिन सीआईबीले प्रभु बैंकलाई सञ्चालक समितिको विस्तृत विवरण माग्दै पत्र पठाएको हो ।

२०७९ पुस २६ गते सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिएर प्रभु बैंकका नाममा एकीकृत कारोबार सुरु भएको थियो । पक्राउ परेका न्यौपाने अहिले प्रभु बैंकमा सिनियर डेपुटी सीईओ छन् । पक्राउ परेका १० मध्ये ५ जना प्रभु बैंकका बहालवाला कर्मचारी हुन्।

‘तत्कालीन सेञ्चुरी बैंकको सञ्चालक समितिको वितृत विवरण माग गर्दै प्रभु बैंकलाई पत्राचार गरिएको छ’ सीआईबी स्रोतले भन्यो, ‘यति ठूलो रकमको ऋण प्रवाहमा सञ्चालक समितिको समेत संलग्नता देखिएकाले तत्कालीन सञ्चालकहरुमाथि अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’

तत्कालीन सेञ्चुरी बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठ थिए भने सञ्चालकहरुमा मनबहादुर राई, अभिषेक बज्राचार्य, प्राडा गीता प्रधान, रणबहादुर श्रेष्ठ ,रमेशकुमार निरौला र सुनिल कुमार न्यौपाने थिए । जसमध्ये अहिले प्रभु बैंकमा गीता प्रधान र अभिषेक बज्राचार्य सञ्चालक छन् । तत्कालीन सेञ्चुरीका अध्यक्ष राजेशकुमार श्रेष्ठ कांग्रेस नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठका आफन्त हुन् ।

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंका विभिन्न कम्पनीमा २ अर्ब ११ करोड रुपैयाँ ऋण दिएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सीआईबीका अनुसार १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । धितोको मूल्यांकनभन्दा अधिक ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ कर्जा प्रवाह भएको प्रहरीले जनाएको छ ।

कमसल धितोमा बढी ऋण प्रवाह गरेको र चौलागाईंले उक्त ऋण दुरुपयोग गरेको पाइएकाले अनुसन्धान गर्नु परेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

‘ गत असोज १८ गते पक्राउ परेका देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं पुर्पक्षका लागि थुनामै छन्, उनको बयानका आधारमा हामीले तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरुलाई पक्राउ गरेका हौं । थप अनुसन्धान जारी छ,’ प्रवक्ता बोगटीले क्लिकमान्डुसँग भने, ‘पक्राउ परेकाहरुको धमाधम बयान लिइरहेका छौं । १० जना भएकाले लामो समय लाग्न सक्छ ।’

प्रहरीले गुडविलमा कर्जा दिएको दाबी गर्दै नेपाल राष्ट्र बैंकले जनाएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । केही हप्ता अघि प्रहरीले राष्ट्र बैंकलाई गुडविललाई धितो मानेर कर्जा दिन मिल्छ कि मिल्दैन भनि सोधेको प्रश्नमा फागुन ४ गते राष्ट्र बैंकले त्यस्तो कानुनी व्यवस्था नरहेको जवाफ पठाएको सीआईबी प्रवक्ता बोगटीले जानकारी दिए ।

चौलागाईंले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिल गायतका कम्पनीका नाममा तत्कालीन सेञ्चुरी बैंकबाट पटक पटक गरेर ऋण लिएका थिए ।

‘धितोले ऋणको साँवा ब्याज खाम्ने अवस्था देखिँदैन, कमशल धितोमा धेरै कर्जा प्रवाह किन भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ प्रवक्ता बोगटीले भने, ‘चौलागाईंले ब्यापार गर्न भन्दै कम्पनीका नाममा लिएको ऋण व्यक्तिगत रुपमा चलाएको भेटिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।’

प्रभु बैंकले ऋण असुलीका पटकपटक ताकेता गर्दासमेत चौलागाईंले साँवा ब्याज नतिरेपछि गत असोजमा देशभर १८ ठाउँमा रहेको धितो लिलामिमा राखेको थियो ।

मंगलबार पक्राउ परेका १० बैंकरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

बैंकरहरु पक्राउ परेसँगै नेपाल बैंकर संघ, बैंक तथा वित्तीय संस्था परिसंघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, फाइनान्स कम्पनी एसोसिएसन, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गरि चर्को बिरोध जनाएका छन् । ती संगठनहरुले दोषी करार भए जसरी नै बैंकरलाई पक्राउ गर्नु गलत भएको भन्दै बिरोध जनाएका हुन् । उनीहरुले पक्राउ नगरी अनुसन्धान गर्नुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । प्रहरीले धितो सम्बन्धी बैंकिङ अभ्यासबारे नबुझेको बैंकरहरुको आरोप छ ।


क्लिकमान्डु