भेनेजुएला भुकम्पमा परी ९२० जनाको मृत्यु


काठमाडौं । भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा हालसम्म ९ सयभन्दा बढी स्थानीयबासीको मृत्यु भएको छ ।

उक्त भूकम्पमा परी ३ हजार ३ सय ६० भन्दा बढी घाइते भएको त्यहाँको सरकारले जनाएको छ । उद्धारकर्मीहरूले अझै पनि जीवित मानिसहरूको खोजी जारी राखेका छन् भने परिवारहरू आफ्ना आफन्तको खबर पर्खिरहेका छन् ।

देशको उत्तर क्षेत्रमा भएका दुई शक्तिशाली भूकम्पले दर्जनौं भवनहरू ध्वस्त पारेका छन्, जसमा राजधानी काराकास पनि समावेश छ ।

घाइतेहरूलाई अस्थायी स्वास्थ्य शिविरहरूमा उपचार दिइरहेको छ । सरकारी अधिकारीका अनुसार सयौँ अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू देशमा पुगिसकेका छन् र थप टोलीहरू आउने क्रममा छन् ।

बुधबार केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएका थिए । दोस्रो भूकम्प करिब ७.५ म्याग्निच्युडको थियो, जुन पछिल्लो सय वर्षमा देशमा आएको सबैभन्दा शक्तिशाली कम्पनमध्ये एक मानिएको छ । सबैभन्दा बढी क्षति ला गुयारा क्षेत्रमा भएको छ, जहाँ देशको प्रमुख बन्दरगाह र सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि अवस्थित छ ।

अझै धेरै मानिस बेपत्ता छन् र उद्धार कार्य जारी रहेकाले मृतक संख्या बढ्ने अनुमान गरिएको छ । ला गुयारामा एक पीडित नताचा डियाजले आफ्ना दुई छोरीहरू भग्नावशेषमा फसेको बताएकी छन्, जसले मनिक्योरिस्टका रूपमा काम गर्थे ।

उनले आफ्ना छोरीहरूलाई सुरक्षित भेटिने आशा व्यक्त गरेकी छन् । भेनेजुएलाको संसद प्रमुख जोर्ज रोड्रिगेजका अनुसार मृतक संख्या ९२० पुगेको छ भने कम्तीमा १७२ जना अझै भग्नावशेषमा फसेका हुन सक्ने अनुमान छ ।

ला गुयारा क्षेत्रमा मात्र २४३ जनाको उद्धार गरिएको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले धेरै मानिसहरूलाई जीवितै उद्धार गर्न सकिएकोमा खुशी व्यक्त गरेकी छन् ।

प्रारम्भिक भूकम्पपछि २१४ वटा परकम्पहरू आएका छन् । धेरै अस्पताल र भवनहरू क्षतिग्रस्त भएका छन्, जसका कारण स्वास्थ्य सेवा प्रणाली अत्यधिक दबाबमा परेको छ । उद्धारकर्मीहरूले हातैले भग्नावशेष हटाएर मानिसहरू निकालिरहेको रिपोर्ट पनि आएको छ, किनकि सञ्चार प्रणाली, सडक र स्रोतसाधन सबै प्रभावित भएका छन् ।

ब्रिटेन, अमेरिका, नेदरल्याण्ड, मेक्सिको र स्विट्जरल्यान्ड लगायत देशहरूले उद्धार टोलीहरू पठाएका छन् । अमेरिकाले युद्धपोत, यातायात विमान र १५ करोड डलर बराबरको सहायता पनि घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघका मानवीय प्रमुखले यो संकटलाई ‘अन्तर्राष्ट्रियस्तरको समन्वय आवश्यक पर्ने ठूलो विपत्ति’ भनेका छन् । भेनेजुएलाको कमजोर पूर्वाधार र आर्थिक संकटका कारण उद्धार कार्य थप कठिन भएको अन्तर्राष्ट्रिय राहत संस्थाहरूले बताएका छन् ।

उद्धारका क्रममा तीन दिदीबहिनी भग्नावशेषबाट जीवितै निकालिएको घटनाले केही आशा जगाएको छ । विभिन्न देशका नागरिकहरू पनि मृतकमा परेका छन् ।