दाउन्ने–पश्चिम सडक खण्डको गुणस्तरमाथि खडा भयो प्रश्न चिन्ह, सुधारको लागि निर्देशन


पश्चिम नवलपरासी । बुटवल–नारायणगढ सडक खण्ड मापदण्डअनुसार निर्माण नभएको बिषयमा प्रश्न चिन्ह खडा भएको छ । उक्त सडक खण्ड एसियाली राजमार्ग (एसियन हाइवे) को मापदण्डअन्तर्गत पर्छ ।

निर्माण कार्यप्रति जनस्तरबाट व्यापक गुनासो बढेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ ।

शनिबार संयुक्त टोलीले पश्चिम नवलपरासीको दाउन्ने पश्चिमदेखि बुटवलतर्फको सडक खण्डमा प्राविधिक तथा व्यावहारिक अवस्थाको सूक्ष्म अनुगमन गरेको हो ।

अनुगमनका क्रममा राष्ट्रिय गौरवको यस आयोजनाको गुणस्तर तथा बजार क्षेत्रमा देखिएका समस्याबारे स्थानीय जनप्रतिनिधि, प्राविधिक र सुरक्षा निकायबिच छलफल भएको छ ।

अनुगमनका क्रममा यस क्षेत्रको प्रतिनिधित्व गर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य (संघीय सांसद) विक्रम खनालले सडक निर्माणका विभिन्न चरणमा गम्भीर प्राविधिक सुधार आवश्यक रहेको औँल्याए ।

उनले भने, ‘राष्ट्रको अर्थतन्त्रसँग जोडिएको यो सडक एशियन हाइवे मापदण्ड अनुसार नै बन्नुपर्छ। कतिपय ठाउँमा सुधार आवश्यक स्पष्ट देखिएकाले सम्बन्धित निकायले तत्काल मापदण्ड अनुसार काम अघि बढाउनुपर्छ, यसमा कुनै सम्झौता हुँदैन।”

बुटवल–नारायणगढ सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर विकास खनालले काममा केही कमजोरी र सुधार आवश्यक रहेको स्वीकार गरे ।

उनले अनुगमनमा देखिएका प्राविधिक त्रुटिहरू सच्याउन आयोजना कार्यालयबाट निर्माण कम्पनीलाई तत्काल औपचारिक पत्राचार गरिने र सुधार गरिने प्रतिबद्धता जनाए ।

त्यस्तै, निर्माण कार्यको सुपरिवेक्षण गरिरहेको कन्सल्ट्यान्ट कम्पनीका इन्जिनियर शशी श्रेष्ठले पनि अनुगमन टोली र जनताको चासोलाई मध्यनजर गर्दै कामको गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाए ।

बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरपालिकाले निरन्तर निगरानी गरिरहेको बताउँदै निर्माण कम्पनीले मापदण्ड अनुसार काम नगरे स्थानीय सरकार चुप लागेर नबस्ने चेतावनी दिए ।

नगरपालिकाका संस्थापक नगर प्रमुख धीर शर्मा बस्यालले एशियन हाइवे गुरुयोजना अनुसार सुरुवाती सम्झौता अनुसार नै काम हुनुपर्नेमा जोड दिँदै दीर्घकालीन टिकाउपनका लागि गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘अन्यथा यो अर्बौँको लगानी बालुवामा पानी जस्तै हुन्छ।’

बर्दघाट नगरपालिका–१४ का वडा अध्यक्ष भीम काजी गुरुङले सडक खण्डमा ड्रेनेज (नाली)को उचित निकास नहुँदा वर्षाको पानी सडकमा जम्ने र केही भाग भासिने जोखिम बढेको बताए ।

नगर कार्यपालिका सदस्य सुमित्रा ढकालले सडक सुरक्षाको अभावमा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै निर्माण पक्ष संवेदनशील बन्नुपर्ने बताए ।

अनुगमनका क्रममा सडक चाँडै बिग्रिनु र भासिनुको मुख्य कारणमध्ये एक ओभरलोड सवारी साधन रहेको पनि सार्वजनिक गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार उक्त सडक खण्डको भारवहन क्षमता अधिकतम १० टन भए पनि हाल ९० टनसम्मका ओभरलोड मालवाहक सवारी साधन निर्वाध रूपमा सञ्चालन भइरहेका छन् ।

अत्यधिक भारका कारण नयाँ पिच गरिएको सडक पनि छोटो समयमै उप्किने, भासिने र बिग्रिने गरेको प्राविधिकहरूको निष्कर्ष छ ।

अनुगमन टोलीले ओभरलोड सवारी साधन नियन्त्रणका लागि ट्राफिक प्रहरी र स्थानीय प्रशासनले तत्काल कडा कदम चाल्नुपर्ने निष्कर्ष निकाल्दै सडकलाई तोकिएको समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गराउन निरन्तर समन्वय, सहजीकरण र नियमित अनुगमन गर्ने प्रतिबद्धता जनाएको छ ।

दाउन्ने पश्चिमदेखि बुटवलसम्मको करिब ४८ किलोमिटर सडक खण्डको कुल लागत करिब ८ अर्ब रुपियाँ रहेको छ ।