सेञ्चुरीका २ सीईओसहित १० पक्राउः देउराली सहकारीका रविन्द्रको कम्पनीमा ११४  करोड धितोमा २११ करोड ऋण



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका दुई जना सीईओ (तुलसीराम गौतम र मनोज न्यौपानेसहित १० जनालाई मंगलबार पक्राउ गरेको छ ।

तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ,अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत पक्राउ परेका छन् । यीमध्ये ५ जना प्रभु बैंकका बालवाला कर्मचारी हुन् ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित कर्मचारीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

‘देउराली सहकारी गठी प्रकरणमा रविन्द्र चौलागाईं पुर्पक्षका लाथि थुनामै छन्, उनको बयानका आधारमा हामीले तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरुलाई पक्राउ गरेका हौं,’ प्रवक्ता बोगटीले क्लिकमान्डुसँग भने, ‘ १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।

धितोको मूल्यांकनभन्दा अधिक ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ कर्जा प्रवाह भएको प्रहरीले जनाएको छ ।

पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिल गायतका कम्पनीका नाममा चौलागाईंले तत्कालीन सेञ्चुरी बैंकबाट पटक पटक गरेर २ अर्ब ४ करोड रुपैयाँ ऋण लिएको र अहिले त्यो बढेर झन्डै ३ अर्ब रुपैयाँ पुगेको छ ।

‘धितोले ऋणको सावाँब्याज खाम्ने अवस्था देखिँदैन, कमशल धितोमा धेरै कर्जा प्रवाह किन भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ प्रवक्ता बोगटीले भने, ‘चौलागाईंले ब्यापार गर्न भन्दै कम्पनीका नाममा लिएको ऋण व्यक्तिगत रुपमा चलाएको भेटिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।’

सेञ्चुरी बैंक गत वर्षको पुसमा प्रभु बैंकमा मर्ज भइसकेको छ । सेञ्चुरीका सीईओ मनोज न्यौपाने मर्जपछि प्रभुमा सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । न्यौपाने भन्दा अघि बैंकमा तुलसीराम गौतम सीईओ थिए । गौतमका पालमा सेञ्चुरीले रविन्द्रका कम्पनीलाई ऋण दिन थालेको थियो ।

यस विषयमा अनुसन्धानका लागि राष्ट्र बैंकले सीआईबीलाई पत्राचार गरेको छैन ।

‘सहकारी ठगी प्रकरणमा रविन्द्र चौलागाईमाथि अनुसन्धान गर्ने क्रममा बैंकबाट लिएको कर्जा दुरुपयोग भएको पाइएपछि सेञ्चुरी बैंकका कर्मचारीहरु पक्राउ परेका हुन्,’ प्रवक्ता बोगटीले ।

चौलागाईंले समयमा कर्जा र कर्जाको साँवा ब्याज नतिरेपछि प्रभु बैंकले ऋणी तथा जमानीको धितो गत असोजमा लिलामीमा निकालेको थियो । दुईपटक धितो लिलामीको सूचना निकाल्दा पनि उक्त धितो बिक्री भएको छैन ।

चौलागाईंले सेञ्चुरी लगायत माछापुच्छ्रे, एनआईसी एशिया, सिटिजन्स, मेगा, बैंकबाट ऋण लिएका थिए । माछापुच्छ्रे बैंकले गत वर्ष नै चौलागाईंको धितो गैरबैंकिङ सम्पत्तिका रुपमा सकार गरिसकेको छ भने सिटिजन्स बैंकले असूली गरिसकेको छ । बैंकिङ प्रणालीबाट चौलागाईंले ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको र अहिले त्यो बढेर ४ अर्ब बढी भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

चौलागाईंले आफू अध्यक्ष भएको सहकारीका बचतकर्ताको रकमले जग्गा किन्ने र उक्त जग्गा बैंकमा धितोमा राखेर ऋण लिँदै आएका थिए ।

सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा गत असोज १८ गते सीआईबीले चौलागाईं पक्राउ गरेको थियो । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि असार दोस्रो साता सहकारी विभागले थप अनुसन्धानका लागि तिनै चौलागाई अध्यक्ष रहेको देउराली बहुउद्देश्यीय सहकारीको फाइल सीआईबीमा दर्ता गराएको थियो ।

बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्ने, कहिले जग्गा दिने प्रलोभन देखाउन थालेपछि फाइल विभागले सीआईबीमा थप अनुसन्धानका लागि पठाएको छ ।

बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर पैसा संकलन गरेको सहकारी लामो समयदेखि सदस्यको पैसा फिर्ता गर्न नसकेर समस्यामा परेको छ ।

तिनै चौलागाई तथा उनका आफन्तहरुले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिको नाममा लिएको कर्जाको समयमा नै साँवा ब्याज नतिरेपछि बैंकले धितो ७ दिन भित्र लिलामी गर्न लागेको हो । कर्जा भुक्तानी नगरेपछि बैंकले ऋणी, जमानी तथा कम्पनीको नाममा भएको १८ स्थानको धितो लिलामीमा निकालेको हो ।

पूजा मार्केंटिङको सञ्चालकमा पूजा खत्री रहेकी छिन् भने कर्जाको जमानतकर्तामा रविन्द्र चौलागाई रहेका छन् । खत्री चौलागाईंकी श्रीमति हुन् । यस्तै मार्केटिङको थप सञ्चालकमा राजेन्द्र खत्री र रविन्द्र चौलागाई रहेका छन् । जमानीमा शशी खत्री र पूजा खत्री रहेका छन् ।

पूजा ट्रेडिङ एण्ड मार्केटिङको सञ्चालकमा पूजा खत्री र राजेन्द्र खत्री रहेका छन् भने जमानीमा रविन्द्र चौलागाई र शशी खत्री रहेका छन् ।

थ्री ब्रदर्स मार्केटिङको सञ्चालकको पूजा र राजेन्द्र खत्री रहेका छन् भने जमानीमा रविन्द्र चौलागाई र शशी खत्री रहेका छन् । यस्तै अन्नपूर्ण डिष्टिलरीको सञ्चालकमा रविन्द्र चौलागाई र पूजा खत्री रहेका छन् ।

प्रभु बैंकले कुन कुन सम्पत्ति लिलामीमा निकाल्यो ?

समयमा नै कर्जा भुक्तानी नगरेपछि बैंकले रविन्द्र चौलागाईको नाममा ललितपुर जिल्ला साविकको सैबु गाबिस(४मा रहेको कित्ता नम्बर १३०९ को ४ आना, कित्ता नम्बर १३१४ को ४ आना र कित्ता नम्बर १३१६ को ४ आना जग्गा र जग्गामा रहेको घर लिलामीमा निकालेको थियो।

यस्तै रविन्द्र चौलागाईको नाममा झापा जिल्ला तत्कालिन शिवगञ्ज गाबिस-७ मा रहेको कित्ता नम्बर क्रमशः २२७४ १०१६७ १०१८९, १०१९०, १७८४११५९९९, २१७८४३ को क्षेत्रफल क्रमशः ६ बिघा, १० बिघा, १५ बिघा ११ कठ्ठा, ११ बिघा १७ कठ्ठा, ७ बिघा १६ कठ्ठा ५० धुर, १ बिघा १२५ कठ्ठा र ७ बिघा १४ कठ्ठा जग्गा र उक्त जग्गामा रहेको घर लिलाम गर्ने भएको छ ।

यस्तै बैंकले पूजा खत्री चौलागाईको नाममा ललितपुर जिल्ला तत्कालिन हरिसिद्धी गाबिस- ५ कित्ता नम्बर ३७१ को ८ आना जग्गा र त्यसमा बनेको घर, पूजा खत्री चौलागाई र रबिन्द्र चौलगाईको संयुक्त नाममा काठमाडौं जिल्ला तत्कालिन मच्छेगाँउ गाविस-३ मा कित्ता नम्बर २३१ मा रहेको ३ रोपनी १३ आना २ पैसा र २३३ को २ आना २ पैसा जग्गा, शशि खत्रीको नाममा ललितपुर जिल्ला तत्कालिन ललितपुर उपमहानगरपालिका-५ स्थित कित्ता नम्बर ६३२ को ४ आना १ पैसा २ दाम जग्गा र त्यसमा बनेको घर लिलामीमा निकालेको थियो।

बैंकले रविन्द्र चौलगाईको नाममा तत्कालीन ललितपुर उपमहानगरपालिका-६ स्थित कित्ता नम्बर क्रमशः ९७४ ९७५ र ९७६ मा रहेको क्रमशः ४ आना ३ दाम, २ आना १५ दाम र २ आना १५ दाम जग्गा, रविन्द्र चौलगाईको नाममा भक्तपुर जिल्ला तत्कालीन मध्यपुर ठिमि नगरपालिका-३, सिट नम्बर १०२११५०१५ स्थित कित्ता नम्बर १७२ को क्षेत्रफल २९२/१४ वर्ग मिटर र सोही वडाको सिट नम्बर १०२११५०१४ स्थित कित्ता नम्बर १७५ को क्षेत्रफल २४८/४३ बर्ग मिटर जग्गा र त्यसमा बनेको घर लिलामीमा निकालेको थियो।

बैंकले रविन्द्र चौलगाईको नाममा ललितपुर जिल्ला तत्कालीन सुनाकोठी गाविस-८ को कित्ता नम्बर क्रमशः १०५७, ६०२, १०५५ र ११९९ को क्षेत्रफल क्रमशः ७ आना, ६ आना, ७ आना र ३ आना जग्गा, पूजा खत्री चौलागाईको नाममा ललितपुर जिल्लाको तत्कालिन सुनाकोठी गाबिस-८ को कित्ता नम्बर १०२९ र १०२६ को ३ दाम र ४ आना १ पैसा ३ दाम जग्गा र त्यसमा बनेको घर लिलामीमा निकालेको थियो।

बैंकले पूजा खत्री चौलागाईको नाममा ललितपुर जिल्ला तत्कालिन ललितपुर उममहानगरपालिका-५ स्थित कित्ता नम्बर ५०२ को क्षेत्रफल ६ आना १ पैसा जग्गा त्यसमा बनेको घर, पूजा खत्री चौलागाईको नाममा ललितपुर जिल्ला तत्कालिन धापाखेल गाबिस- १ को कित्ता नम्बर क्रमशः ५६४४ र ५१७६ को क्षेत्रफल ८ आना २ पैसा १ दाम र ४ आना १ दाम जग्गा र त्यसमा बनेको घर, राजेन्द्र खत्रीको नाममा भक्तपुर जिल्लाको तत्कालिन भक्तपुर नगरपालिका-४को कित्ता नम्बर ८०० को ९ आना जग्गा र त्यसमा बनेको घर, राजेन्द्र खत्रीको नाममा भक्तपुर जिल्लाको तत्कालिन नंखेल गाविस- ९ मा कित्ता नम्बर क्रमशः ५४७, ५४६, ४५०, २१९१ र १२७२ को क्रमशः २ रोपनी ७ आना, १ रोपनी ९ आना, १२ आना, १४ आना १ पैसा, १ रोपनी ३ आना १ पैसा जग्गा र त्यसमा बनेको घर लगायत लिलामीमा निकालेको थियो।

बैंकले राजेन्द्र खत्रीको नाममा काभ्रेपलाञ्चोक जिल्ला तत्कालीन पाँचखाल गाबिस- ५मा रहेको क्रमशः २४३९ २४९७ २४९६ र २४४० कित्ता नम्बरको क्रमशः १ रोपनी, १४ आना १ पैसा, १ रोपनी ९ आना ३ पैसा र ५ रोपनी २५ दाम जग्गा र त्यसमा रहेको घर लिलामीमा निकालेको थियो।

यस्तै अन्नपुर्ण डिष्टिलरीको नाममा सुनसरी जिल्लाको तत्कालिन पूर्व कुसाहा गाबिस-८ को कित्ता नम्बर २५ र २६ को क्रमशः १६ कठ्ठा, ५ धुर, १ बिघा १६ कठ्ठा १० धुर र वडा नम्बर ८ मा रहेको कित्ता नम्बर ११२ को १४ कठ्ठा जग्गा लिलामीमा निकालेको थियो।

अन्नपुर्ण डिष्टिलरी कै नाममा रहेको सुनसरी जिल्लाको तत्कालीन इनरुवा नगरपालिका-१ मा रहेको कित्ता नम्बर १४६० को को २ कठ्ठा जग्गा लिलामी गर्ने बैंकले जनाएको छ । बैंकले ऋणी रविन्द्र चौलागाईको नाममा दर्ता भएको प्रदेश ३-०१-०२४ च १५२५ नम्बरको टोयोटा कम्पनीको प्राडो कार र ऋण लिएका ४ वटै कम्पनीको चालु सम्पति लिलामीमा निकालेको थियो।


क्लिकमान्डु