‘प्रहरी धरपकडले बैंकिङ्ग क्षेत्र आतंकित’



काठमाडौं । बैंकिङ्ग क्षेत्रजस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवं पक्राउबाट समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको बैंक तथा वित्तीय संस्थाका चारवटै संस्थाहरुले जनाएका छन् ।

प्रहरी धरपकड एवं पक्राउले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको भन्दै यसबाट कर्मचारीहरुको मनोवलसमेत खस्कन गएकोले राज्यका सम्बन्धित निकायहरुलाई उनीहरुले गम्भीर हुनआग्रह गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले कर्जा लगानीका सम्बन्धमा नियमकीय निर्देशनको परिधिभित्र रही आ-आफ्नो कर्जा नीति तथा कार्यविधिभित्र बसी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको काम कारवाहीलाई नै आधारमानी हुने घडपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउन सक्ने पनि बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरु तथा अन्य प्रचलित ऐन, नियमका साथै बैंकिङ्ग क्षेत्रका मान्य सिद्धान्तहरु समेतको पालना गरी पारदर्शी तरिकाले बैंकिङ्ग कारोबार गर्दै आईरहेको उनीहरुको भनाइ छ ।

‘नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग कारोबार गर्नका लागि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही संस्थाहरुको आ-आफ्नै नीति तथा कार्यविधि बमोजिम आ-आफ्नो अधिकार क्षेत्रभित्र रहि निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा त्यसमा संलग्न हुने सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कारवाही हिँजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा द्विविधा नरहेको उनीहरुको भनाइ छ ।

यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैं तत्पर रहेको पनि संस्थाहरुले जनाएका छन् ।

प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ्ग क्षेत्रको मान्य सिद्धान्तहरुको अधिनमा रही काम गरि रहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु हुन्न भन्ने बैंक तथा वित्तीय संस्थाहरुका चारवटै संघको धारणा छ ।

अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने भन्ने न्यायका सिद्धान्तमा प्रतिवद्ध रहेका जनाउँदै उनीहरुले बैंकिङ्ग कसूरसंग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनु पर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएकोमा दुख ब्यक्त गरेका छन् ।

यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पुर्याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने पनि उनीहरुको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चल/अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही कर्जा प्रवाह गर्ने गर्दछन् ।

ग्राहकहरुको हक-हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा बैंकिङ्ग क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै संस्थाहरुले पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्दान्तलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूती गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।


क्लिकमान्डु