राष्ट्र बैंकले ‘गुडविलमा ऋण दिन मिल्दैन’ भन्ने पत्र पठाएपछि १० बैंकरलाई पक्राउ गरेका हौं: सीआईबी



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले राष्ट्र बैंकले पठाएको पत्रकै आधरमा तत्कालीन सेञ्चुरी बैंकका सीईओद्वय तुलसीराम गौतम र मनोज न्यौपानेसहित १० बैंकरलाई पक्राउ गरेको जनाएको छ ।

गत असोज १८ गते पक्राउ परेका देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा सीआईबीले केही हप्ताअघि नियामक नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।

‘रविन्द्र चौलागाईंको बयानका आधारमा हामीले गुडविलमा समेत कर्जा दिएको भेटिएको उल्लेख गर्दै त्यसो गर्न मिल्छ कि मिल्दैन भनेर केही हप्ताअघि राष्ट्र बैंकलाई पत्र पठाएका थियौं,’ सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले क्लिकमान्डुसँग भने, ‘राष्ट्र बैंकले गत फागुन ४ गते गुडविलमा कर्जा दिन मिल्दैन भन्ने जवाफसहितको जवाफी पत्र पठाएपछि हामीले तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित कर्मचारीहरुलाई पक्राउ गरेका हौं ।’

राष्ट्र बैंकले पनि सीआईबीले पत्र पठाएको स्वीकार गरेको छ । ‘सीआईबीले हामीलाई सोधेको थियो र हामीले त्यसको जवाफ पनि पठाइसकेका छौं,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो ।

बुधबार बैंकरहरु पक्राउ परेका विषयमा जानकारी गराउन र बाहिरै बसेर मुद्दा लड्न पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै राष्ट्र बैंक पुगेको बैंकर्स संघको टोलीलाई गभर्नर महाप्रसाद अधिकारीले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धानमा सहयोग गर्नुको विकल्प नभएको जवाफ दिएका थिए ।

सीआईबीले देउराली सहकारीका अध्यक्ष चौलागाईंका विभिन्न कम्पनीमा धितोले खाम्नेभन्दा ९७ करोड रुपैयाँ बढी ऋण दिएको पाइएको भन्दै पत्र पठाएको थियो । सीआईबीका अनुसार १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी कर्जा प्रवाह भएको छ ।

पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालि लगायतका कम्पनीका नाममा चौलागाईंले तत्कालीन सेञ्चुरी बैंकबाट पटक पटक ऋण लिएका थिए ।

सोही कर्जा प्रवाह गर्ने कार्यमा संलग्न सीईओसहित कर्मचारीहरु पक्राउ मनोज न्यौपाने, पूर्वसीईओ गौतम, राजेश भण्डारी, दिलिप बराल, सुबासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पक्राउ परेका छन्।

उनीहरुलाई उच्च अदालत पाटनबाट अनुसन्धानका लागि ७ दिन थुनामा राख्ने अनुमति लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

‘चौलागाईंले ब्यापार गर्न भन्दै कम्पनीका नाममा लिएर बैक ठगी गर्ने ऋण व्यक्तिगत रुपमा चलाएको भेटिएको प्रहरीको अनुसन्धानमा देखिएको छ’ प्रवक्ता बोगटीले भने ।

सेञ्चुरी बैंक गत वर्षको पुसमा प्रभु बैंकमा मर्ज भइसकेको छ । सेञ्चुरीका सीईओ मनोज न्यौपाने मर्जपछि प्रभुमा सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । न्यौपानेभन्दा अघि बैंकमा तुलसीराम गौतम सीईओ थिए । गौतमका पालमा सेञ्चुरीले रविन्द्रको कम्पनीलाई ऋण दिन थालेको थियो ।


क्लिकमान्डु