बुधबारदेखि मंगलबारसम्म काठमाडौंका यी ठाउँमा अवरुद्ध हुनेछ बिजुली



काठमाडौं । काठमाडौं महानगरपालिकाको विभिन्न ठाउँमा बुधबारदेखि निरन्तर आगामी मंगलबारसम्म विद्यूत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाकाअनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो ।

आयोजनाकाअनुसार बुधबार बालुवाटार फिडरमार्फत वितरण हुने महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत लाइन अवरुद्ध हुनेछ ।

त्यस्तै, बिहीबार गोंगबु फिडर र सामुखुसी फिडरबाट वितरण हुने गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रहरुमा विद्युत आपूर्ति अवरुद्ध हुनेछ । त्यस्तै, शुक्रबार अर्थात १८ गते शिवपुरी फिडरबाट वितरण हुने चपली घुम्ती चोक र पासिकोट क्षेत्रहरुमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

त्यस्तै, १९ गते शनिबार हेपाली फिडर र गणेस्थान फिडरबाट वितरण हुने हेपालीहाइटदेखि धापासी विद्युलय हुँदै दहाल गौंडासम्मको क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुनेछ । २० गते आइतबार लाजिम्पाट फिडरबाट वितरण हुने एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन तथा टुँडालदेवी सम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

२१ गते सोमबारका लागि महाराजगञ्ज १ फिडरबाट वितरण हुने गोल्फुटार पेट्रोलपम्पदेखि बसुन्धारा सम्मको क्षेत्रमा र २२ गते मंगलबार महाराजगञ्ज २ फिडरबाट वितरण हुने गोल्फुटारदेखि हेम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।


क्लिकमान्डु