बोर्डमा अध्यक्ष खाली भएको दुई महिनापछि बन्यो कार्यविधि



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि तयार पारेको छ ।
बोर्डमा अध्यक्ष रिक्त भएको दुई महिना पछि सरकाले कार्यविधि बनाएको छ ।

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्था बमोजिम कार्यविधि बनाएको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी आवेदन माग गरिने छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको व्यक्ति अध्यक्ष बन्ने छन् ।

बोर्डको अध्यक्षमा दरखास्त दिनका लागि कुनै राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहेको वा बोर्डसँग निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजू बाँकी नरहेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको, टाट नपल्टेको वा बेइमानी वा जालसाजी आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको, प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भए नभएको, र भएको भए त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन बर्ष पूरा भएको, विदेशी मुलुकको स्थायी बसोबासको अनुमति प्राप्त नगरेको, नियामक निकायबाट कार्यकारी प्रमुख हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको व्यक्ति हुनुपर्ने छ ।


क्लिकमान्डु