डब्लुटीओ १३ औँ मन्त्रिस्तरीय सम्मेलनमा उद्योगमन्त्री, समुद्रीमार्ग प्रयोगका समन्वय गर्न जोड



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विश्व व्यापार सङ्गठन डब्ल्यूटीओमा आबद्ध सदस्य राष्टहरुले सामना गर्नु परेका चुनौतीहरू बारे ध्यानाकर्षण गराएका छन् ।

आइतबार डब्लुटीओको ‘१२औं चाइना राउन्ड टेबल उच्च स्तरीय सत्र’ लाई सम्बोधन गर्दै मन्त्री रिजालले सदस्य राष्ट्रहरुले सामना गर्नु परेका चुनौतीहरूबारे ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री रिजालले यसमा आबद्ध सदस्यको क्षमता अभिवृत्तिका लागि प्राविधिक र क्षमता विकास सहयोग जारी राख्न समेत आग्रह गरे । त्यसैगरी डब्ल्यूटीओको महत्त्वाकाङ्क्षी सदस्यको लागि सरल र अनुकूल नीति बनाउनु पर्नेमा जोड दिनु हुँदै मन्त्री रिजालले विश्व व्यापार सङ्गठनका नयाँ सदस्यहरू कोमोरोस र टिमोर लेस्टेलाई बधाई समेत दिए ।

आइतबार नै मन्त्री रिजालले भूपरिवेष्टित विकासशील देशहरूको बैठकलाई पनि सम्बोधन गरे । भूपरिवेष्टित देशहरूका लागि भौगोलिक विचलन हटाउन र पारवहन लागत घटाउन विश्व व्यापार सङ्गठनमा आबद्ध सदस्य राष्ट्रहरुले थप सहयोग गर्न मन्त्री रिजालले आग्रह गरे ।

मल्टी–मोडल यातायात पूर्वाधारको माध्यमबाट समुद्री मार्ग प्रयोगका लागि आवश्यक समन्वय गर्नु पर्नेमा मन्त्री रिजालले जोड दिए ।

मन्त्री रिजाल विश्व व्यापार सङ्गठनको १३ औँ मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अबुधाबी पुगेका थिए ।


क्लिकमान्डु