बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएनः आरजु राणा



काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छन् ।

सोमबारको प्रतिनिधि सभामा उनले सरकारलाई बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरिन् । बजेट दिनका लागि सांसदहरु हानाथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको उनले बताइन् ।

सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

‘कात्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको पेमेण्ट गर्न निर्देशन पठाएको थियो । अहिले कहाँ पुग्यो भनेर सभामुखमार्फत सरकारलाई ताकेता गरिदिन आग्रह गर्दछु,’ उनले भनिन्, ‘आज हामी प्रि बजेटको छलफल गर्न गइरहेका छौँ, बजेटको लागि हामी सबै सांसदहरु हानाथाप गर्दछौँ । मेरो क्षेत्रमा हालिदिनुस् भनेर तर दुई तीन दिन अघिको हेडलाइनमा १५ देखि २० प्रतिशत मात्रै प्रदेशमा बजेटहरु स्पेन्ट भयो भनेर । कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगेपनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाइरहेको छैन । नेपाल सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।’


क्लिकमान्डु