आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ संसदमा पेस (पूर्णपाठ)



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.महतले बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेट प्रस्तुत गर्नुभन्दा तीन महिना पहिलेनै छलफलका लागि प्रस्ताव पेस गरेको हो । यसअघि बजेट आउनु १५ दिन अघिमात्र यस्तो छलफल हुने गरेको थियो ।

विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा ३ महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन गरिएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेसँगै बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेस गर्न बाटो खुलेको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा संशोधन गरी यो अध्यादेश ल्याइएको हो । उक्त ऐनको दफा ११ (१) मा प्रत्येक आर्थिक वर्षका लागि विनियोजन विधेयक पेस गर्नुभन्दा कम्तीमा १५ दिनअगावै अर्थमन्त्रीबाट विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीयसंसद्मा प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था रहेको थियो ।

यो व्यवस्थालाई अध्यादेशबाट संशोधन गरी ‘विनियोजन विधेयक ल्याइनुभन्दा ३ महिनाअगावै बजेटका सिद्धान्त र प्राथमिकतामा संसद्मा पेस गरिनुपर्ने’ व्यवस्था ल्याइएको हो । त्यस्तै बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता माथि संसद्मा छलफल भएर एक महिनाभित्र सरकारलाई सुझाव जानेछ ।

यसबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संसद्मा पर्याप्त छलफल भई सांसदहरुबाट आएका सुझावका आधारमा यथार्थपरक बजेट तर्जुमा गर्न सघाउ पुग्ने विश्‍वास अर्थमन्त्री महतले व्यक्त गरे ।


क्लिकमान्डु