चामल बेच्ने सिभम एग्रोले एकै वर्ष गर्‍यो १ अर्ब ६२ करोडको व्यापार, आम्दानी बढ्यो



काठमाडौं । चालम बेच्ने सिभम एग्रो इन्डस्ट्रीज प्रालिको व्यापारमा वृद्धि भएको छ ।

सन् २०२३ मा कम्पनीले १ अर्ब ६२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ४५ करोडको व्यापार गरेको थियो । त्यसअघि सन् २०२१ मा कम्पनीको व्यापार १ अर्ब ८ करोड रुपैयाँको थियो ।

सन् २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको व्यापारमा ११.९३ प्रतिशतको वृद्धि भएको छ ।

प्रिमियम चामलका ब्राण्डहरुको माग नेपाली बजारमा बढ्दै जाँदा सिभमको पनि व्यापारमा वृद्धि भएको हो । कम्पनीको मार्जिनमा पनि सन् २०२२ मा ७ प्रतिशत रहेकोमा सन् २०२३ मा ९ प्रतिशत भई सुधार देखिएको छ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०२४ को पहिलो त्रैमासमा ७२ करोड ८० लाखको व्यापार भएको छ । अघिल्लो वर्ष अर्थात सन् २०२३ को पहिलो त्रैमासमा कम्पनीको व्यापार ९० करोडको भएको थियो ।

सन् २०१२ मा सुरु भएको सिभम एग्रो इन्डस्ट्रीज प्रालि नेपालको अनुभवि कृषि उत्पादनकेन्द्रित कम्पनी हो । पर्सामा आफ्नै पूर्ण अटोमेटेड चामल मिल रहेको यो कम्पनीले मसिना चामल तथा लंग ग्रेन चामलहरु विभिन्न ७ वटा ब्राण्डको नामबाट बिक्री गर्दै आएको छ ।

सिभम एग्रो सिभम अर्गनाईजेसनअन्तर्गतको कम्पनी हाे । उक्त माउ कम्पनीले भने खाद्यसँगै पोल्ट्री दाना, पशु दाना, ड्राई फ्रुट, सोया नगेटलगायतका अन्य उत्पादनहरु पनि गर्ने गरेको छ । कम्पनीको कार्यकारी निर्देशकका रुपमा प्रमोद कुमार शाह रहेका छन् ।

सिभमको अपरेटिंग साइकलका कारण कम्पनीले कर्जा लिनुपर्ने अवस्था रहेको छ । कच्चा सामग्रीलाई ल्याएर तयारी चामल बनाई बजारमा बेच्नका लागि कम्पनीलाई २५७ दिनको अपरेटिंग साइकल लाग्ने भएकाले मुख्य गरि सञ्चालन पुँजिका लागि नै कम्पनी बैंकमाथि आधारित हुनुपर्ने अवस्था बढ्दै गएको कम्पनीले जनाएको छ । धान संकलन गर्न औसतमा ९१ दिन, त्यसलाई भण्डारण गर्न १९६ दिन र तयार चामल बजारमा पुर्याएको ३० दिनपछि मात्रै भुक्तानी आउने हुनाले उधारोको अवधि लामो रहेको कम्पनीको भनाइ छ ।

धान एक समयमा मात्रै उत्पादन हुने भएकाले पनि भण्डारण ६ देखि ७ महिनाको भण्डारण गर्नुपर्ने समस्या कम्पनीको रहेको
छ ।

हालका लागि भने सिभम एग्रोले १ अर्ब ८ करोड ६० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिंग गराएको छ । केयर रेटिंग नेपालले ३३ करोड ७५ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि डबल बि र ७४ करोड ६५ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर प्लस रेटिंग दिएको छ ।


क्लिकमान्डु