उपभोक्तालाई डीडीसीको आग्रह: स्वदेशी दुग्धजन्य पदार्थ खाइदिनुस्, नत्र कृषकको पैसा तिर्न सक्दैनौं



काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई स्वदेशी दुग्धजन्य पदार्थहरुको खपत बढाउन अपिल गरेको छ ।

कृषकले बिक्री गरेको दुधको पैसा समयमा नै नदिएको भन्दै आन्दोलन भइरहेको समयमा डीडीसीले स्वदेशी दुग्धजन्य पदार्थहरुको खपत बढाउन अपिल गरेको छ ।

देशको आर्थिक गतिविधिमा आएको मन्दी तथा उपभोक्ताको क्रयशक्तिमा देखिएको कमीका कारण बजार खपतमा गिरावट आउँदा दैनिक रुपमा संकलन हुने कच्चा दुधलाई कन्भर्सन गरी मौज्दात राख्नु परिरहेकाले एक अर्ब रुपैयाँभन्दा बढी पुँजी ब्लक भएको डीडीसीले जनाएको छ ।

उक्तल पुँजी ब्लक हुँदा नगद चक्र बिथोलिएका कारण किसानको पैसा दिन नसकेको डीडीसीले जनाएको छ ।

डीडीसीले दुध संकलन कार्यलाई नियमित राखेको भए पनि देश सञ्चालित धुलो दुध कारखानाहरु पूर्णरुपमा सञ्चालन नभएको, ठूलो मात्रामा धुलो दुध तथा मखनको मौज्दात रहन जाँदा असन्तुलन भइ अवस्था असहज भएको डीडीसीले जनाएको छ ।

मौज्दात व्यवस्थापनबाट अवस्थालाई सामान्य बनाउन दुग्ध पदार्थहरुको बिक्री मूल्य घटाई बजारीकरण प्रवर्धन गर्ने निर्यात बजार विस्तारको लागि गृहकार्य भइरहेको संस्थानले जनाएको छ ।

कृषकको बक्यौता रकम भुक्तानी सहजीरकण गर्न संस्थानमा रहेको धुलो दुध र मखनको मौज्दात आधारमा सहुलियत ऋणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अनुरोध भै प्रकृया अगाडि बढेको डीडीसीले जनाएको छ ।


क्लिकमान्डु