उपलब्धी सहकारीले ठग्यो साढे १८ करोड, सञ्चालक र सीईओको निजी कम्पनीमा २९ करोड लगानी



काठमाडौं । उपलब्धी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुले विभिन्न १०१ जना बचतकर्ताको १८ करोड ४० लाख ५४ हजार ७६२ रुपैयाँ ठगी गरेका छन् ।

काठमाडौं महानगरपालिका-२ कैलाशचउरमा रहेको सहकारीले बचतकर्ताको १० हजार ६६० रुपैयाँदेखि १ करोड १९ लाख २ हजार रुपैयाँसम्म ठगेको छ ।

सहकारीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले आफ्नो नाममा ५ वटा नीजि कम्पनी खोलेर २८ करोड ७० लाख ७२ हजार ५३३ रुपैयाँ लगानी गरेका छन् । सहकारीको नाममा बचतकर्तालाई ठग्ने ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ । ११ जनामध्ये ३ जना फरार रहेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

सहकारीका नाममा बचतकर्ता ठग्नेमध्ये फरार हुनेमा संस्थाका उपाध्यक्ष काठमाडौं महानगरपालिका-२ का रोशन थापा, संस्थाका सचिव काठमाडौं-३२ का अनिल प्रसाद खनाल, सहकारीका सदस्य काठमाडौं -२ लाजिम्पाटका गिता सिलवाल फरार रहेका छन् । संस्थाका अध्यक्ष काठमाडौं चन्द्रागिरी नगरपालिका-१ का विपिन शर्मा मिश्रको भने निधन भइसकेको छ ।

बचतकर्ता ठग्नेमा सहकारीको कोषाध्यक्ष कृष्ण प्रसाद भट्टराई, सदस्य शुसिला दाहाल, सदस्य नबराज पोखरेल, सदस्य सानु राजा शिल्पकार, सदस्य विनु सुवेदी, सहकारीको व्यवस्थापक प्रतिभा निरौला र पूर्व अध्यक्ष तथा सल्लाहकार देवराज शर्मा रहेका छन् ।

सहकारीले बचतकर्तालाई आकर्षक ब्याज दिने प्रलोभन देखाएर, समयमा नै निक्षेपको सम्पूर्ण साँवा ब्याज फिर्ता दिने भनी विश्वास दिलाई बचतकर्तालाई ठगेको बचतकर्ताको दाबी छ ।

सहकारी संस्थाका हालका अध्यक्ष विपिन शर्मा मिश्र र बिक्रम श्रेष्ठले बिसोफ्ट नेपाल प्रालि खोलेर उक्त कम्पनीको नाममा ४४ लाख ४६ हजार ३५१ रुपैयाँ, सहकारीका अध्यक्ष विपिन शर्मा मिश्रले सूचना चौतारी सञ्चार सहकारीको नाममा १ करोड ५० लाख १९ हजार ९६१ रुपैयाँ, सहकारीका प्रमुख कार्यकारी अधिकृत प्रतिभा निरौला र बाबुराजा थापाले उपलब्धि प्रकाशन सेवाको नाममा १४ करोड २९ लाख ७ हजार ७२५ रुपैयाँ, सहकारीका निवर्तमान अध्यक्ष तथा सल्लाहकार देवराज शर्माले करुणा इन्टोरियर प्रालिको नाममा ८ करोड ८२ लाख ६० हजार ७६० रुपैयाँ र एचिभियर सपोर्टस एण्ड सर्भिस ट्रेड कमलपोखरीको नाममा सहकारीका बचतकर्ता ठगहरुले ३ करोड ६४ लाख ३७ हजार ७३६ रुपैयाँ कर्जा लिएर लगानी गरेको पाइएको छ ।

उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार देवराज शर्मा, अध्यक्ष बिपिन शर्मा मिश्र र प्रमुख कार्यकारी अधिकृत प्रतिभा निरौलाले बचतकर्ताहरुले जम्मा गरेको रकम आफुखुसी लापरबाही तरिकाले आफ्नै ब्यक्तिगत कम्पनिहरुमा प्रकृया पूरा नगरी लगानी गरी बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना गरेर ठगी गरेको पाइएको छ । सीईओ निरौला संस्थाका निवर्तमान अध्यक्ष देवराज शर्माको भाइ बुहारी हुन् ।

उनीहरुले संचालन गरेको उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाबाट प्राप्त बिवरण अनुसार २०८० पुस १२ गतेसम्मको संस्थाको जम्मा सेयर पुँजी ४ करोड ६ लाख १७ हजार ४०० रुपैयाँ रहेको छ । पुस ६ गतेसम्मको बचतकर्ताहरुले बचत गरेको साँवा तथा ब्याज समेतको फिर्ता दिनु पर्ने रकम ४६ करोड २४ लाख ७१ हजार ५८९ रुपैयाँ रहेको छ । सहकारीले पुस ६ गतेसम्म ३७ करोड ७० लाख १३ हजार ११२ रुपैयाँ कर्जा लगानी गरेको छ । हाल सहकारीको सेयर संख्या बिभिन्न कम्पनिहरु र ब्यक्ती समेत गरी १ हजार ३८९ रहेका छन् ।


क्लिकमान्डु