विश्वविद्यालयमा एकलौटी गर्न असफल व्यक्तिलाई उपकुलपति बनाइँदै छ: ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको बताएका छन् ।

उपकुलपति छनोटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्ध भइसकेको व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर छ ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुको पाँचौं राष्ट्रिय सहकारी भेलामा उनले ३ जना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनोट गरेर सरकारले तीमध्ये पनि सबभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको पनि उनले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । त्यसमा पनि तेस्रो नम्बरका व्यक्ति उपकुलपति हुने ओलीको अनुमान थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसकै काम गर्न पनि पछि नपरेको दोहोर्‍याए ।

‘अहिले नयाँ तरिका निकालेको छ–भागबण्डा नगर्ने, एकलौटी गर्ने । अहिले चाहीँ मेरिटोक्रेसीको आधारमा लिने, एउटा समिति बनाउने, छानविन गर्ने, यताउता गर्ने । अनि, असफलसिद्ध भइसकेका मान्छेहरुको छनौट गर्ने । अहिले ३ जना सिफारिस भएको छ क्यार । तीन जनामा पनि तेस्रो नै नियुक्त होला जस्तो लाग्छ मलाई त छाँटकाँट हेर्दा । किनभने अलि बढ्तै असफल भएको मान्छे चाहियो नि । त्यसो भएर तृतीय नम्बर चाहीँ नियुक्त हुनुहोला कि जस्तो मेरो अनुमान नहुन पनि सक्ला । यो खालको स्थिति अहिले पनि छ । अर्थात डेमोक्रेटिक म्यानर, डेमोक्रेटिक बिह्याविअर, डेमोक्रेटिक प्राक्टिस अझै पनि नेपालमा स्थापना हुन सकेन । हामीले बसालेको लोकतान्त्रिक थिति पनि गठबन्धनले भत्काउँदैछ, उकाउँदैछ । सबै थितिहरु फ्याँक्दैछ’ उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पार्टी सरकारमा रहेका बेला बसालेको लोकतान्त्रिक थिति पनि भत्काउँदै गएको आरोप समेत लगाए ।


क्लिकमान्डु